पोखरा । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको चौथो साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
सभामा औषधि व्यवसायीले भोग्दै आएका समस्या, सरकारी नीतिको अस्पष्टता, अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने प्रवृत्ति तथा व्यवसायीको हकहितका विषयमा छलफल गरिएको छ ।
सोही अवसरमा लामो समयदेखि पत्रकारितामार्फत स्वास्थ्य क्षेत्रका गतिविधि र औषधि व्यवसायसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई सञ्चारमाध्यममार्फत जनसमुदायसम्म पु¥याउँदै आएका पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरिएको छ ।
स्वास्थ्य क्षेत्रका गतिविधि, औषधि व्यवसायीका समस्या तथा यस क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई निरन्तर समाचार र विचारमार्फत सार्वजनिक बहसमा ल्याउन पु¥याएको योगदानको उच्च कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य क्षेत्रका समस्या, व्यवसायीले भोग्नुपरेका चुनौती र नीतिगत अस्पष्टताबारे सञ्चारमाध्यममार्फत जनचेतना अभिवृद्धि गर्न खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले औषधि व्यवसायीप्रति राज्यको धारणा अझै स्पष्ट हुन नसकेको बताए । विशेषगरी औषधि पसलको दर्ता, नवीकरण र सञ्चालकको योग्यतासम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयले सरल, स्पष्ट र व्यावहारिक नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित बनाउने, धम्क्याउने र त्रसित पार्ने गतिविधि भइरहेको विषयमा बोल्दै अध्यक्ष खण्डेलवालले समाचार र विचारका नाममा व्यवसायीलाई तर्साउने प्रवृत्तिभन्दा वास्तविकता बुझेर अघि बढ्नुपर्ने बताए । व्यवसायीका समस्या र अवस्थाको यथार्थ बुझेर स्थानीय सरकार तथा सम्बन्धित निकायले गलत गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको धारणा थियो ।
संघका केन्द्रीय महासचिव श्रीधर खनालले सरकारले व्यवसायीलाई आफ्ना समस्या लिएर संवादमा बोलाएर नमिलेका लगभग ९० प्रतिशत समस्या हरु हल गरिएको बताए ।
संघका थोकतर्फका केन्द्रीय उपाध्यक्ष टंकप्रसाद अधिकारीले औषधि व्यवसायको क्षेत्रमा अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताए । व्यवसायीलाई त्रसित बनाउने गतिविधि रोक्न स्थानीय प्रशासन र प्रहरीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
अधिकारीका अनुसार औषधि तथा सर्जिकल सामग्रीको आपूर्ति र कारोबारमा संलग्न व्यवसायीले ठूलो आर्थिक तथा व्यावसायिक दायित्व वहन गरिरहेका छन् । उनले औषधि उत्पादन गर्ने विदेशी कम्पनीको संख्या ४०० र स्वदेशी कम्पनीको संख्या ८७ रहेको उल्लेख गर्दै औषधि तथा सर्जिकल सामग्रीको कारोबारमा संलग्न व्यवसायीको हकहित संरक्षणका लागि संघ सक्रिय रहेको बताए । उनले व्यवसायीका समस्या समाधान गर्न राज्य र सम्बन्धित निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
संघका खुद्रातर्फका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले खुद्रा औषधि व्यवसायीको योगदानलाई कमजोर रूपमा लिन नहुने बताए । उनका अनुसार करिब ८५ प्रतिशत व्यवसायी खुद्रा क्षेत्रसँग सम्बन्धित छन् । खुद्रा व्यवसायीको उपस्थितिले नै थोक व्यवसाय र औषधि कम्पनीको कारोबारलाई समेत चलायमान बनाउने भएकाले उनीहरूको हकहित संरक्षणमा संघले विशेष ध्यान दिनुपर्ने पौडेलको भनाइ थियो ।
उनले बिरामीको स्वास्थ्य अवस्थाबारे सोधपुछ तथा परामर्श गर्दा समेत राज्यबाट आपत्ति जनाइने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे । राज्यले स्पष्ट नीति बनाउन नसक्दा अधिकांश खुद्रा औषधि व्यवसायीको मनोबल कमजोर बनेको उनको धारणा थियो ।
पौडेलले संघको १५औँ महाधिवेशन कर्णाली प्रदेशमा हुन लागेको जानकारी दिँदै संस्थाको नेतृत्व चयन गर्दा व्यवसायीको हकहितमा काम गर्न सक्ने सक्षम उम्मेदवारलाई अघि बढाउनुपर्ने बताए । विगतका तथा वर्तमान नेतृत्वबीचको सम्बन्ध र संस्थागत एकतालाई थप बलियो बनाउँदै व्यवसायीका समस्या समाधान गर्न सक्ने नेतृत्व चयनमा पहल गर्न उनले आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले लामो इतिहास बोकेको संस्थाको केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट आफ्नो उम्मेदवारी रहने जानकारी दिँदै सहयोगका लागि अपिल गरे । संस्थालाई थप प्रभावकारी बनाउँदै व्यवसायीको हकहितका पक्षमा काम गर्न सबैको साथ आवश्यक रहेको उनको भनाइ थियो ।
संघका सल्लाहकार रामबहादुर केसीले विभिन्न बहानामा औषधि व्यवसायीलाई दुःख दिने कार्य भइरहेको भन्दै जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्नो भूमिका र दायित्व बुझ्नुपर्ने बताए । व्यवसायीलाई अनावश्यक दबाब दिने प्रवृत्तिले समग्र क्षेत्र प्रभावित हुने भएकाले समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।
नेपाल औषधि व्यवसायी संघ कास्कीका अध्यक्षले आफू नेतृत्वमा रहँदा अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै समितिबाट पर्याप्त सहयोग नपाउँदा धेरै काम अधुरै रहेको गुनासो गरे । आगामी नेतृत्वले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाभित्र सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको आग्रह थियो ।
उनले केही दिनअघि सामान्य औषधि बिक्री गरेको विषयलाई लिएर एक व्यवसायीलाई राति १ बजे घरबाट उठाइएको प्रसंग उल्लेख गर्दै व्यवसायीलाई त्रसित बनाउने कार्य बन्द हुनुपर्ने बताए । कानुनको पालना गराउने नाममा व्यवसायीलाई अनावश्यक दुःख दिनेभन्दा वास्तविकता बुझेर निष्पक्ष रूपमा काम गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सभामा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, औषधि बिक्रेता संघका केन्द्रीय अध्यक्ष निरज पन्तलगायतले औषधि व्यवसायीका हकहित, संस्थागत एकता र व्यवसायलाई व्यवस्थित बनाउने विषयमा धारणा राखेका थिए ।
नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष केशरीप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश महासचिव सञ्जीव देवकोटाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष दयानिधि पौडेल र थोकतर्फका उपाध्यक्ष लक्ष्मीनारायण पराजुलीले समापन पनि गरेका थिए ।
वि.सं. २०३० मा स्थापना भएको नेपाल औषधि व्यवसायी संघको गण्डकी प्रदेश समिति वि.सं. २०७७ मा स्थापना भएको हो । संघले औषधि व्यवसायीको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीका समस्या समाधानका लागि पहल गर्दै आएको छ ।
