उत्कृष्ट प्रशिक्षक बन्न पूर्व खेलाडीहरूबीच कडा प्रतिस्पर्धा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ को ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको एउटा रोचक समानता छ । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् ।

आफ्नो खेल जीवनको उचाइपछि प्रशिक्षकको रूपमा नयाँ यात्रा तय गरेका यी तीनै पात्रको एउटै लक्ष्य भनेको गण्डकी प्रदेश र नेपालको खेलकुदलाई उचाइमा पु¥याउनु हो । रेखमाया प्रदेशको नतिजा सुधार्न प्रयासरत छिन् भने कुमार अन्तर्राष्ट्रिय अनुभवलाई पोखराको टेनिस कोर्टमा प्रयोग गर्दैछन् । उता, सिद्धान्त वैज्ञानिक पद्धतिमार्फत एथ्लेटिक्समा नयाँ क्रान्ति ल्याउन तल्लीन छन् । अनुभव, समर्पण र व्यावसायिकताको यो त्रिकोणात्मक भिडन्तले अवार्डको गरिमा मात्र बढाएको छैन, खेलाडीबाट प्रशिक्षक बनेकाहरुको योगदानलाई समेत विशेष सम्मान दिएको छ । उनीहरुको आ–आफ्नै परिचय र विशेषता छन् ।

रेखमाया गुरुङ – तेक्वान्दो

तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेखमाया गुरुङ १० औँ स्पोट्र्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेकी छन् । खेलाडीका रूपमा थुप्रै सफलता हात पारेकी उनले सन् २०१५ देखि प्रशिक्षकको रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेको बताइन् । धेरैजसो महिला खेलाडीहरू विवाह वा वैदेशिक रोजगारीका कारण खेल क्षेत्रबाट टाढिने गरेको भए पनि रेखमायाले भने प्रशिक्षक बनेर यसै क्षेत्रमा भविष्य खोज्ने निर्णय गरेको उनी सुनाउँछिन् । अन्य खेलको तुलनामा तेक्वान्दोमा प्रशिक्षकका लागि राम्रो आम्दानी र सम्मान हुने महसुस गरेर आफू यसतर्फ लागेको उनले उल्लेख गरिन् ।

रेखमाया प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । उनी कास्की जिल्ला तेक्वान्दो संघको सदस्यका रूपमा लामो समय काम गरेपछि हाल प्रदेश तेक्वान्दो संघको सदस्यका रूपमा सक्रिय छिन् । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै उनलाई केही दिन अघि गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विधाबाट युवा प्रतिभा सम्मानबाट सम्मान गरेका थियो । साथै जिल्ला र प्रदेश तेक्वान्दो संघहरूले विभिन्न समयमा सम्मानित गरिसकेका छिन् ।

गण्डकी प्रदेशका खेलाडीहरूले राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरूमा स्वर्ण पदक जितोस् भन्ने उनको मुख्य धोको छ । हाल गण्डकीको नतिजा प्रायः दोस्रो स्थानमा मात्रै सीमित हुने गरेकाले यसलाई सुधार गर्दै आफ्ना उत्पादनहरूलाई राष्ट्रिय स्तरमा स्वर्ण पदक दिलाउन निरन्तर लागिपरेको उनले बताइन् । प्रशिक्षकको रुपमा पाएको यो मनोनयनले आफूलाई थप जिम्मेवारी बोध गराएको र आगामी दिनमा खेल क्षेत्रको विकासमा अझ बढी सक्रिय हुने विश्वास उनले व्यक्त गरे ।

कुमार अधिकारी – टेनिस

कास्कीको माटोमा जन्मिएर नेपाली टेनिसको आकाशमा चम्किएका कुमार अधिकारी यतिबेला आफ्नो खेल कौशल र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा बाँडिरहेका छन् । कुनै समय नेपालको शीर्ष वरीयतामा रहेका अधिकारीले खेलाडीका रूपमा मात्र नभई प्रशिक्षकका रूपमा पनि आफूलाई अब्बल सावित गरेका छन् ।

अधिकारीका लागि टेनिसको प्रेरणा आफ्नै बुवा दुर्गा अधिकारीबाट प्राप्त भएको थियो । बुवा टेनिस कोर्ट बनाउने काम गर्थे, त्यहीँबाट उनले १४ वर्षको उमेरमा वि।सं। २०५५ सालदेखि ¥याकेट समाउन सुरु गरे । खेलाडी जीवनका थुप्रै उतारचढावबीच अधिकारीले सातौँ राष्ट्रिय खेलकुदमा तत्कालिन पश्चिमाञ्चलका लागि एकल विधामा स्वर्ण पदक जितेका थिए । उनले चीनको ग्वान्जाउमा आयोजना भएको एशियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।

काठमाडौंमा अमेरिकन राजदूतावासको फोहोरा दरबार कोर्टमा ५ वर्ष प्रशिक्षण गराएको अनुभव बटुलेपछि उनी सन् २०१७ मा माल्दिभ्सतर्फ लागे । सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औँ एशियन गेम्समा उनले माल्दिभ्सको टेनिस टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रशिक्षण क्षमता प्रदर्शन गरे । सन् २०१७ जुनदेखि २०२० डिसेम्बरसम्म माल्दिभ्समा बिताएपछि उनी नेपाल फर्किए । हाल गण्डकी प्रदेश तथा कास्की जिल्ला टेनिस संघसँग समन्वय गरेर नयाँ खेलाडी उत्पादनमा जुटेका छन् ।

अहिले आर्यशराज पौडेल, दर्शील श्रेष्ठ र शास्वत बज्राचार्य जस्ता प्रतिभाशाली जुनियर खेलाडीहरूलाई प्रशिक्षण दिइरहेको उनले बताए । पोखरा स्पोट्र्स अवार्डमा ‘उत्कृष्ट खेलाडी’ को अवार्ड जितिसकेका अधिकारी यो पटक उत्कृष्ट प्रशिक्षकको आवार्डका लागि रेसमा छन् ।

सिद्धान्त अधिकारी – एथ्लेटिक्स

पोखराका ३६ वर्षीय सिद्धान्त अधिकारी पोखरा स्पोट्र्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । लामो समयदेखि खेलकुदमा होमिएका अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । पोखरा–२६, बुढीबजारका अधिकारीले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए ।

नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर ‘आर्मी स्पोट्र्स इन्स्टिच्युट’ ९एएसआई० बाट ‘स्पोट्र्स साइन्स’ मा डिप्लोमा गरे । एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनले यहाँको एथलेटिक्स क्षेत्रमा व्यवस्थित प्रशिक्षणको अभाव महसुस गरी वैज्ञानिक पद्धतिबाट खेलाडी तयार पार्ने अठोट गरे । सोही लक्ष्यका साथ उनले सन् २०२१ तिर सुनिल राजवंशीसँग मिलेर ‘हिमालयन एलिट्स रन’ प्रोजेक्ट सुरु गरे । यस प्रोजेक्टमार्फत उनले खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँदै आएका छन् । नारायणी भण्डारी, बादल कार्की, अनुष्का अधिकारीलगायत उदीयमान खेलाडी उनकै प्रशिक्षणमा अघि बढिरहेका छन् ।

कास्की जिल्ला एथलेटिक्स संघको सचिव रहेको उनको अवधारणा र संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट र पोखरा १० के जस्ता प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । उनले हालसम्म कुनै पनि सरकारी पारिश्रमिक नलिई स्वतन्त्र रूपमा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेको बताए । यसअघि पल्सर स्पोट्र्स अवार्डको युवा विधामा मनोनयनमा परिसकेका अधिकारी अहिले उत्कृष्ट प्रशिक्षकको होडमा उभिएका छन् ।

Scroll to Top