भारतको उत्तर प्रदेश–नेपाल सीमा हुँदै नेपाली युवतीलाई भारत पुर्याएर आर्थिक लेनदेनका आधारमा विवाह तथा सन्तान प्राप्तिका लागि प्रयोग गर्ने गरेको दाबी सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करको १९ सेप्टेम्बर २०२६ को अनुसन्धानात्मक रिपोर्टअनुसार यस्तो कारोबारमा दलालको भूमिका रहने गरेको बताइएको छ।
रिपोर्टमा उल्लेख भएअनुसार विशेषगरी सन्तान प्राप्त गर्न नसक्ने भारतीय दम्पतीलाई लक्षित गरी नेपाली युवतीसँग विवाह गराउने र बच्चा जन्मिएपछि ठूलो रकमको लेनदेन हुने गरेको दाबी गरिएको छ। कतिपय मामिलामा सम्बन्ध तथा बच्चाका लागि एक करोड भारतीय रुपैयाँसम्म रकम तय हुने गरेको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार नेपाली युवतीलाई भने २० देखि २५ लाख रुपैयाँसम्म दिने भनिएको छ। बाँकी रकम दलाल तथा सम्बन्धित व्यक्तिहरूबीच बाँडफाँट हुने गरेको दाबी गरिएको छ।
दैनिक भास्करले गरेको कुराकानीमा आफूलाई नेपाली एजेन्ट बताउने एक महिलाले आर्थिक लेनदेनका आधारमा नेपाली युवतीलाई भारतीय परिवारसँग विवाह गराउने काम हुने संकेत गरेकी छन्। उनका अनुसार परिवारको आर्थिक अवस्था, उमेर तथा अन्य विवरण हेरेर युवतीको ‘म्याचिङ’ गरिने गरेको छ।
रिपोर्टमा एक नेपाली युवतीसँग गरिएको कुराकानीसमेत समेटिएको छ। ती युवतीले आफूलाई विवाहका लागि परिवार तथा दलालमार्फत भारत लगिएको र त्यसबापत रकम पाउने बताएकी छन्। विवाहपछि भारतमै बस्नुपर्ने र परिवारसँग सम्पर्क तथा अन्य विषयमा समेत विभिन्न सर्त रहने गरेको कुराकानीबाट देखिन्छ।
त्यस्तै, अर्को घटनामा भारतमा विवाह गरिसकेकी नेपाली युवतीले आफूलाई दलालमार्फत भारत लगिएको बताएकी छन्। उनका अनुसार सुरुमा भनिएकोभन्दा फरक परिस्थितिमा आफू विवाह गर्न पुगेकी थिइन्।
रिपोर्टले यस्ता घटनामा मानव तस्करी, विवाहका नाममा आर्थिक कारोबार तथा महिलामाथि हुने शोषणको जोखिम रहेको संकेत गरेको छ। सीमावर्ती क्षेत्रमा सक्रिय दलालहरूले आर्थिक रूपमा कमजोर परिवारका युवतीलाई प्रलोभनमा पार्ने गरेको दाबी पनि रिपोर्टमा गरिएको छ।
यस किसिमको कारोबारमा संलग्न व्यक्तिले भने युवतीलाई ‘फर्जी विवाह’का लागि नभई परिवार निर्माणका लागि लगिने दाबी गरेका छन्। यद्यपि, ठूलो रकमको लेनदेन र दलालको संलग्नताले यस्ता सम्बन्धको कानुनी तथा मानवीय पक्षमा गम्भीर प्रश्न उठाएको छ।
