विश्वकर्मा भलिबल कपको उपाधि दाजुभाइ क्लब गल्याङलाई

पोखरा । दाजुभाइ क्लबल्याङ नवौं विश्वकर्मा भलिबल कप–२०८३ को च्याम्पियन बनेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा दाजुभाइ क्लब गल्याङले हरिनास गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपा धि जितेको हो ।

असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा हरिनास गाउँपालिका उपविजेता बनेको छ भने शुक्लागण्डकी नगरपालिका तेस्रो भएको छ ।

च्याम्पियन बनेको दाजुभाइ क्लब गल्याङले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा तेस्रो भएको शुक्लागण्डकी नगरपालिकाले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा हरिनास गाउँपालिकाका सुनील मानन्धर उत्कृष्ट स्पाइकर तथा सोही टोलीका सञ्जित मानन्धर उत्कृष्ट ब्लकर घोषित भए । दाजुभाइ क्लब गल्याङका सुशील विश्वकर्मा उत्कृष्ट डिफेन्डर र शुक्लागण्डकीका विल ठाकुरी उत्कृष्ट सर्भर घोषित भए ।

त्यस्तै, दाजुभाइ क्लब गल्याङका श्याम विश्वकर्मा उत्कृष्ट प्रशिक्षक र सोही क्लबका उमेश सेन्चुरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज केवल एउटा समुदायको नाम नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको बताइन् । समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने सीपयुक्त हातहरूको सम्मान गर्नु श्रम र सीपकै सम्मान भएको उनको भनाइ थियो ।

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा खेल संयोजक पिताम्बर सुनार लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन विश्वकर्मा समाज नेपालका सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गरेका थिए ।

Exit mobile version