चरक एकेडेमीको स्कुल हेल्थ कार्यक्रम जनप्रियमा

पोखरा । चरक एकेडेमी कमलपोखरी पोखरा ११ मा नर्सिंङ विषय अध्ययरत विद्यार्थीले स्कुल हेल्थ प्रोग्राम अन्तर्गत जनप्रिय मावि सिमलचौरमा सम्पन्न गरेको छ । स्वास्थ्य शिक्षा र विद्यार्थीलाई स्वास्थ्य जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले नर्सिङ विषय दोस्रो सेमेस्टरका विद्यार्थीले विभिन्न शीर्षकमा विद्यार्थीको स्वास्थ्य अवस्था संकलन गरेका थिए । जनप्रिय माविको सभाहलमा भएको समापन कार्यक्रममा विद्यार्थीबीच भएको स्वास्थ्य समस्या पहिचान तथा हुन सक्ने खतरा रोक्न विभिन्न इन्डिकेटरमा तयार गरेको रिपोर्ट प्रस्तुत गरेका थिए ।
चरक एकेडेमीका छात्रा आकृति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीले गहन ढंगले अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिएका थिए । छात्रा सुजिता लामिछाने र श्रीषा केसीले सञ्चालन गरेको सभामा जनप्रिय मावि शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यार्थीको मेहनेतको कदर गर्दै भविष्यमा आउन सक्ने चुनौतिलाई सहज ढंगबाट सफल अवतरण गर्न थप मेहनेतको खाँचो औंल्याए । अध्यक्ष धमलाले नर्सिङ शिक्षा छात्राले मात्र नभई छात्रको पनी रोजाइको विषय बनाउन चरक एकेडेमीले सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए ।
कार्यक्रममा जनप्रिय माविका प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यार्थीले तयार गरेको विभिन्न इन्डिकेटरहरुलाई थप सुधार गर्दै विद्यार्थीको स्वास्थ्यमा ध्यान दिने बताए । बस्ताकोटीले विद्यालय परिवारले हरेक पक्षमा ध्यान पूर्वक काम गरेपनि १८ सय विद्यार्थीबीच हुने हरेक समस्या पहिचान गर्न नयाँ प्रविधिको विकास आवश्यक भएको बताए । चरक एकेडेमीका पिन्सिपल सिर्जना पण्डित पहारीले नर्सिङ पढ्ने विद्यार्थीको मेहनेतको कदर गर्दै आवश्यकताका आधारमा विद्यार्थीलाई चाहिने शैक्षिक सामग्री पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
चरक एकेडेमीका विद्यार्थीले जनप्रियमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जनचेतना कमजोर रहेको तथ्यांक प्रस्तुत गरेका थिए । उनीहरुले विद्यार्थीले नकारात्मक लतको सिकारमा चुरोट खाने, मोबाईल धेरै चलाउने, पानी नपिउने, नङ नकाट्ने, कपालको उचित हेरचाह नगर्ने, ड्रेसको सफाईमा ध्यान नदिने, क्यान्टिनमा एउटै परिकार पटक पटक खुवाउने, स्मार्ट बोर्ड प्रयाप्त नहुँदा विद्यार्थीमा निरासा हुने लगाायत समस्या देखिएको उल्लेख गरेका थिए । संख्यात्मक रुपमा राम्रो भएपनि थोरै नराम्रोले विद्यालय र विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने भएसँगै मसिनो ढंगले समस्या समाधान गर्न सुझाव दिएको चरक एकेडेमीका प्रचार्य सम्झना गिरीले जानकारी दिइन् ।

Exit mobile version