जनप्रियमा विद्यार्थीलाई अभिमुखीकरण

पोखरा ।
जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण दिएको छ । विद्यालयमा विभिन्न संकायमा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा सोही विद्यालयबाट एसईई उत्तीर्ण भई कक्षा ११ मा पढ्ने छात्र/छात्रालाई स्वागत तथा अभिमुखीकरण प्रदान गरेको विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यार्थीको गहना अनुशासन भएकाले नियमित कक्षा लिन, आफ्नो सीप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

अध्यक्ष धमलाले विद्यालय बन्ने भनेको विद्यार्थीको पढाई र शिक्षकको भूमिकाले निर्धारण हुने भन्दै ११ को पढाई विद्यार्थीको मेहनेत र अभिभावकको ध्यानले सफल हुने बताए । राम्रो गर्ने शिक्षकलाई पुरस्कार दिन विद्यालय पछि पर्न नहुने बताएका धमलाले आधुनिक सीप सिकाईमा नवीनतम थप्न प्रविधिमैत्री विद्यालय निर्माण गर्न विद्यालय व्यवस्थापन समिति र प्रअलाई आग्रह गरेका थिए । शिक्षक विष्णुहरि त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले नृत्य तथा गायन मार्फत् नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए । वस्ताकोटीले दशजोड दुइको भर्ना अभियान सकिएसँगै विद्यार्थीको चौतर्फी ज्ञान बढाउन विद्यालयले विभिन्न कार्यक्रम तय गरेको उल्लेख गरे । उनले विज्ञान, वाणिज्य, शिक्षा, सिभिल इन्जिनियरिङ (९–१२) र कम्प्युटर कक्षाहरु दक्ष शिक्षक तथा उपयुक्त विधिबाट पढाई हुने बताए । प्रअ बस्ताकोटीले स्वरोजगार जनशक्ति उत्पादन गर्ने अभियानमा जनप्रिय माविले विगत वर्षदेखि नै रचनात्मक कार्य गरेको स्मरण गर्दै निःशुल्क कम्प्युटर शिक्षा तथा सीपका आधारमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको बताए ।

कार्यक्रममा मोटिभेटर तथा काउन्सिलर भक्तराज रसाईलीले विद्यार्थीलाई सकारात्मक उर्जा दिने विभिन्न प्रस्तुती प्रदान गरेका थिए । विभिन्न संकायमा ३ सय ५० जना विद्यार्थी कक्षा ११ मा भर्ना भएको जनप्रिय माविमा पढ्दै कमाउँदै अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

jss-welcome-program-news-ph.jpg
jss-welcome-program-news-ph.jpg

यसैबीच विद्यालयलाई शैक्षिक यात्रामा सहजताकोलागि पोखरा ८ सिमलचौर निवासी भारती बरालले आफ्‌ना श्रीमान स्वर्गीय पण्डित सुकुदेव बरालको स्मृतिमा १ लाख १ हजार १ सय ५ रुपैयाँको अक्षयकोष प्रदान गरेकी छन् । विद्यालयको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले निवासमै आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठी सहितको टोलीलाई नगद हस्तान्तरण गरेको विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले जानकारी दिए ।

Exit mobile version