पोखरा ।
जनप्रिय मावि सिमलचौरमा अभिभावक संग अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै आएको विद्यालयले दशंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नु पर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए । विद्यालय प्रशासनले आगामी दिनमा सुधारका कार्यक्रम सार्वजनिक गर्दै अभिभावकका तर्फबाट विद्यार्थीले पुरा गर्नु पर्ने पठन कर्तव्य र अभिभावकले दिनुपर्ने ध्यानको बारेमा सुझाव सहित नमुना विद्यालय निर्माण अभियानमा रहेको धारणा राखेका थिए ।
अभिभावकहरुले नानीबाबुले घरमा भन्दा स्कुल र सरहरुसँग डराउने भएकाले शनिबार र आईतबारको छुट्टीमा विशेष प्याकेज ल्याउन, सिकाईलाई शिक्षामा परिणत गर्न, खाजामा ध्यान दिन, होमवर्क परीक्षण गर्ने पद्दतिलाई विकास गर्न, गणित विषयलाई प्रथामिकता दिन आग्रह गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्म, कक्षा ६, ७ र ९ तथा कक्षा ८ र १० गरी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकबीच विभिन्न चरणमा अन्तर्क्रियात्मक अभिमुखीकरण भएको थियो । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य तथा जनप्रतिनिधि हिराकाजी श्रेष्ठले बालबालिकाको गतिविधि घरबाट मसिनोसँग नियाल्नु पर्ने बताए । श्रेष्ठले समग्र शिक्षा विकासमा ध्यान दिन शिक्षकहरुको थप प्रयास आवश्यक रहेको बताउँदै आभिभावकका साना साना गुनासो तुरुन्त समाधान गर्न विद्यालय प्रशासनलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीले अभिभावकले कडा निगरानी र विद्यालयले उचित शिक्षा प्रदान गरेमात्र विद्यालय बन्ने ठोकुवा गरे ।
कार्यक्रममा विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले आधुनिक शिक्षा प्रदान गरिरहेको जनप्रियले संस्कार युक्त शिक्षा प्रदान गर्न घरपरिवारको ठूलो भूमिका हुने बताए । उनले प्राविधिक शिक्षा, कम्प्युटर शिक्षा, लाइब्रेरी तथा शैक्षिक यात्रामा जोडिने हरपक्षलाई सवैको हातेमालो हुनु पर्नेमा जोड दिएका थिए । प्रअ बस्ताकोटीले गुनासो, सुझाव, परामर्श र अपेक्षा विद्यालयलाई दिन अभिभावकसँग आग्रह गरेका थिए । विद्यार्थीलाई स्कुलमा खुसी बनाउने जिम्मा हामीले लिने बताउँदै घरमा पनि सोही वातावरण सिर्जना गराईदिन अभिभावलाई सुझाव दिएका थिए । विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारी, शिक्षक नवराज सुवेदी, सुशिला गिरी, विष्ष्णुहरि त्रिपाठी, शिक्षक अभिभावक संघका प्रतिनिधि धिरज थापा, सदस्य माया पाण्डे लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।
अभिमुखीकरण सभामा सहायक प्रअ ऋषिराम अधिकारीले स्वागत गर्दै अभिभावकको रुचीमा विद्यार्थीको मेहनेत हुने भएकाले अब्बल विद्यार्थी निर्माण गर्न सवैको हातेमालो आवश्यक रहेको बताए । विभिन्न सेक्सनमा पढाई भइरहेको जनप्रिय माविमा १ हजार ८ सय विद्यार्थी र ७२ जना शिक्षक कर्मचारी तथा विभिन्न संघसंस्था आवद्ध रहेका छन् ।
कार्यक्रममा भ्वाईस अफ् चिल्ड्रेनका कार्यक्रम अधिकृत अप्सरा गुरुङले अभिभावकलाई मोबाईल प्रयोगबाट हुने हानी र बालबालिकालाई पार्ने असरको प्रस्तुती दिएकी थिइन् । गुरुङले अनलाईनको माध्यमबाट बालबालिकालाई विभिन्न प्रकारका हेरेस्मेन्ट, ठगी, अनैतिक क्रियाकलाप तथा जीवन बर्वाद पार्ने योजनाका घटनाहरु बढेको भन्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न विद्यालय र अभिभावक चनाखो हुनु पर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा विद्यालयका शिक्षक, विषयगत शिक्षक तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।
