नेकपा एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन् ।
देशव्यापी अभियानमा साउनसम्म ३ लाख ५९ हजार जना अर्थात् करिब ५३ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका हुन्, जब कि गत वर्षसम्म एमालेमा ६ लाख ८६ हजार ७ सय ४८ सदस्य थिए ।
गत वर्ष भदौको जेन–जी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाइ छ ।
जेन–जी आन्दोलनपछि गत फागुनको चुनावमा नै एमाले मात्र नभई सबै वामपन्थी दलले कमजोर जनमत पाएका थिए । एमाले २५ सिट र नेकपा १७ मात्र सिट जितेर संसद्मा प्रतिनिधित्व गर्ने वामपन्थी दल बनेका थिए ।
वामपन्थी दलहरूको जनमत खस्किनुमा वैचारिक आधार, वर्गीय सरोकार र जनतासँगको सम्बन्ध बिर्सेर सत्ता, अवसर, आन्तरिक गुटबन्दी र सुविधाभोगी राजनीतिमा केन्द्रित हुनु मुख्य कारण रहेको विश्लेषकहरूले औंल्याएका छन् ।

