एमालेमा पहिरो ! पार्टी सदस्यता नवीकरण गर्ने आधा घटे

नेकपा एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ ।

गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमालेले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढाएको थियो । तर विगतको तुलनामा हालसम्म करिब ५१ प्रतिशत एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन् ।

गत भदौको विधान महाधिवेशनमा ६ लाख ६७ हजार १ सय १४ जनाले सदस्यता नवीकरण गरेको सांगठनिक विभागको प्रतिवेदनमा उल्लेख छ । त्यसअनुसार अहिले नवीकरण गर्ने ५१ प्रतिशत अर्थात् करिब ३ लाख ४० हजार छन् ।

केही सदस्य निष्क्रिय भएका, पार्टी छाडेका र केहीको मृत्यु भएका कारण सदस्यता नवीकरण गर्नेको संख्या घटेको एमालेको प्रदेश कमिटीको भनाइ छ । नवीकरण गर्ने म्याद साउन मसान्तसम्म तोकिएको छ ।

एमाले प्रदेश अध्यक्ष र सचिवहरूले दिएको जानकारीअनुसार केन्द्रीय सचिवालय बैठकले आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने विधि बनाएपछि अपेक्षित रूपमा गति लिन सकेको छैन ।

यसअघि सदस्यता नवीकरणका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रावधान थिएन । २०८२ मंसिरको ११औं महाधिवेशनमा एमालेले सदस्यता नवीकरण गरेको थियो । त्यसका आधारमा महाधिवेशन गरिएको थियो ।

Exit mobile version