पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार रहेको बताएकी छिन् ।
सरकारले पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेका बेला दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले बाल्यकाल क्रान्तिको कठिन परिस्थितिमा बितेको स्मरण गराउँदै आज सुन्नै नसकिने किसिमका भ्रामक र आधारहीन आरोपहरू व्यहोर्नुपर्दा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन्।
राजनीतिक प्रतिशोधका आधारमा विभिन्न समयमा अस्वाभाविक र हावादारी हल्लाहरू फैलाउने गरिएको दाबी गर्दै उनले ती आरोपहरू पुष्टि गरेर देखाउन चुनौतीसमेत दिएकी छिन्।
दाहालले संविधान र कानुनबमोजिम राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानमा आफ्नो र परिवारको पूर्ण सहयोग रहने स्पष्ट पारेकी छिन्।
आफूहरूले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको जानकारी दिँदै उनले कुनै पनि आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नगरेको दाबी गरेकी छिन्।
यदि छानबिनका क्रममा गलत गरेको पुष्टि भए कारबाही भोग्न तयार रहेको तर बिनाकारण लगाइने झूटा आरोपहरू स्वीकार्य नहुने उनको भनाइ छ।
छोरीको नाताले आफ्ना बुवालाई सहयोग गर्नु नै अपराध हो र भन्दै समाजका अगुवा र अभिभावकहरूसँग प्रश्न गरेकी उनले आफूहरू निष्ठाको राजनीति र आन्दोलनको जगबाट आएकाले जनतालाई धोका नदिने बताएकी छिन्।
साथै, उनले यस्ता आधारहीन अफवाह र भ्रमको पछि नलाग्न सम्पूर्ण सर्वसाधारणलाई आग्रहसमेत गरेकी छिन्।
