पोखरामा १६ लाख पुरस्कार राशीको ‘राइट टु प्रोटिन रन–२०२६’

प्रोटिन सचेतना र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आगामी असोजमा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)ले युएस सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी)को मुख्य प्रायोजनमा असोज ३ गते शनिबार दौड आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

‘प्रोटिनका लागि दौडौं, स्वास्थ्यका लागि दौडौं, स्वस्थ नेपालका लागि दौडौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा ४ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ ।

खेलकुद मार्फत स्वास्थ्य, पर्यटन र कृषिलाई सँगै जोड्ने यस जनचेतनामूलक अभियानले नेपालको पोषण र खाद्य सुरक्षाको चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

नेपालमा ४६ लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको अवस्थामा रहेको अनुमान छ । तथ्यांक अनुसार नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसतमा करिब ४६ ग्राम रहेको छ, जुन विश्वव्यापी औसत करिब ६७ ग्रामभन्दा निकै कम हो ।

प्रोटिनको आवश्यक मात्रा र गुणस्तरबारे पर्याप्त जनचेतना फैलाउन सन् २०१९ देखि सुरु भएको यो अभियानले दौड र खेलकुदका माध्यमबाट सन्देश दिँदै आएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल ८ विधामा प्रतिस्पर्धा हुने र १६ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नियमानुसार लाग्ने २५ प्रतिशत कर कट्टी गरी विजेता धावकहरुलाई खुद १२ लाख ८० हजार रुपैयाँ पुरस्कार वितरण गरिने जानकारी दिइएको छ ।

हाफ म्याराथन (२१ किलोमिटर) पुरुष र महिला दुवै विधाका प्रथम विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौंले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, खुला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौडका विजेताले क्रमशः प्रथम ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, चौथो १५ हजार र पाँचौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कक्षा १२ सम्मका युवा विद्यार्थीहरुका लागि ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला विधामा प्रथमलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार र पाँचौंलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

ह्विलचेयर ३ किलोमिटर पुरुष र महिला विधाका विजेताले पनि युवा विधाकै बराबर पुरस्कार राशि पाउनेछन् ।

पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने दौड हल्लनचोक, खहरे, सेदी, खपौंदी, पामे हुँदै लौरुक पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्क फर्किएर समापन हुनेछ ।

कार्यक्रमलाई व्यावसायिक र सुरक्षित बनाउन एनएफआईएले नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसँग समन्वय गर्ने बताएको छ ।

यस अभियानले विशेषगरी युवा र विद्यार्थीहरुमा सुलभ प्रोटिनका स्रोतहरु जस्तै अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनिर र दालको महत्त्वबारे जानकारी गराउने लक्ष्य राखेको छ ।

Exit mobile version