अत्यधिक धुवाँ फाल्ने पोखराका १५ सिटी बस कारवाहीमा

पोखरामा गरिएको प्रदूषण परीक्षणमा ७० वटा सवारी साधनमध्ये १५ वटा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने भेटिएका छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीले आइतबार पोखराको न्युरोड क्षेत्रमा गुडिरहेका सवारी साधनको प्रदूषण परीक्षण गरेको हो ।

परीक्षणमा असफल भएका सवारी साधनका कागजपत्र कार्यालयले नियन्त्रणमा लिएको छ । ती सवारीलाई मर्मत सम्भार गर्न पठाइएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार मर्मतपछि ती सवारीको पुनः परीक्षण गरिनेछ । परीक्षणमा मापदण्ड पूरा भए कागजपत्र फिर्ता गरिने छ ।


पोखराका नगर बसको नियमित मर्मत सम्भार नहुँदा प्रदूषण बढ्दै गएको देखिएको छ । गण्डकी सरकारले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि पोखरामा यस्ता सवारी साधनको संख्या धेरै भएकाले प्रदूषण बढेको निष्कर्ष निकालेको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदूषण मापन गर्ने मेसिन जलेपछि लामो समय परीक्षण रोकिएको थियो । केही समयअघि मात्रै नयाँ मेसिन खरिद भएपछि कार्यालयले पुनः नियमित प्रदूषण मापन सुरु गरेको हो ।

प्रदूषण मापदण्ड पूरा नगर्ने सवारी साधनलाई २ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार कार्यालयसँग छ ।

यसअघि परीक्षणमा असफल भएका सवारी साधनलाई मर्मतका लागि पठाइएको छ । मर्मतपछि पुनः परीक्षण गर्दा मापदण्ड पूरा भए मात्र उनीहरूका कागजपत्र फिर्ता गरिनेछ ।

Exit mobile version