पर्यटन राजधानी पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुवाँको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि प्रदूषण जाँच गरिएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० बस मापदण्डविपरीत भेटिएका छन् ।
डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए ।
गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ ।
हरेक ६ महिनामा सवारी जाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँको अभावका कारण चेकजाँच गर्न समस्या हुने गरेको छ ।
मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसम्भार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरूप पाइएमात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमेत प्रदूषण चेकजाँच निरीक्षण गर्न पुगेका थिए ।
यातायात मन्त्रालयले सार्वजनिक सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिन निर्देशन दिएको छ ।