पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बिहीबार जारी गरेको ‘सद्भाव सन्देश’ उल्लेख छ ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सद्भाव सन्देशमा पूर्वराजाले नेपालको निर्माणकालदेखि नै यहाँका विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू एकापसमा मिलेर बस्दै आएको स्मरण गराएका छन् ।
नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ-आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको सम्मान रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्याउने काम हुन नहुनेमा उनले जोड दिएका छन् ।
समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको पूर्वराजाले बताएका छन् । यस्ता गतिविधिहरू नेपालको मौलिक मूल्य र मान्यता विपरीत रहेको उल्लेख गर्दै उनले जुनसुकै भू-भागमा रहेका नेपालीहरूलाई पनि एकापसमा मिलेर बस्न विशेष आग्रह गरेका छन् । ‘हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ।
उनले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

