गण्डकीको वन समृद्धिको आधार, ३२ करोड बढी राजस्व उठाइयो

गण्डकी प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा सार्वजनिक गर्दै वन संरक्षण, जैविक विविधता, जलाधार व्यवस्थापन, वन्यजन्तु संरक्षण, वन पैदावार उत्पादन तथा राजस्व संकलनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

वन पैदावार बिक्री तथा उपयोगबाट आर्थिक वर्ष २०८२/०८३ मा मूल्य अभिवृद्धि करसहित ३२ करोड ६३ लाख ८१ हजार ३९७ रुपैयाँ राजस्व संकलन भएको छ भने राजस्व मात्रै २० करोड ३३ लाख ५५ हजार रुपैयाँ रहेको निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ ।

निर्देशनालयका अनुसार गण्डकीको कुल २१ लाख ९७ हजार ६३४ हेक्टर क्षेत्रफलमध्ये ८ लाख १७ हजार २९० हेक्टर अर्थात् ३७.१८ प्रतिशत भूभाग वनले ढाकेको छ ।

प्रदेश पूर्वीय र पश्चिमी वानस्पतिक क्षेत्रको संगमस्थल भएकाले जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध मानिन्छ । यहाँ २६० भन्दा बढी आयुर्वेदिक महत्त्वका वनस्पति, विश्वशान्ति जैविक विविधता उद्यान, पञ्चासे वन क्षेत्र, फेवा जलाधार क्षेत्र तथा रामसार सूचीमा सूचीकृत तालतलैया रहेका छन् ।

प्रदेशभर ३ हजार ९ सय ७९ सामुदायिक वन, १ हजार १ सय ४८ कबुलियती वन, ४४ धार्मिक वन, एक साझेदारी वन तथा सरकारद्वारा व्यवस्थित वनमार्फत वन संरक्षण र व्यवस्थापन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

गण्डकीमा चितवन राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्षको आंशिक भाग तथा अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको सम्पूर्ण भाग गरी १० हजार ३९.५१ वर्ग किलोमिटर संरक्षित क्षेत्र रहेको छ । यो प्रदेशको कुल क्षेत्रफलको ४५.६८ प्रतिशत हो ।

तनहुँको छिर्कनेस्थित भानुभक्त प्राणी उद्यान र कास्कीको पचभैयामा प्रदेशस्तरीय प्राणी उद्यान सञ्चालनमा रहेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश र संघीय सरकारबाट सञ्चालित कार्यक्रमका लागि कुल १ अर्ब ६ करोड ८६ लाख ७२ हजार रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएकोमा ८२ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

समग्र वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ९१ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ ।

Exit mobile version