मातहतका निकायलाई जग्गा-जमिनको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई सरकारी नाममा रहेको, भोगाधिकार प्राप्त, लिज वा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको घरजग्गाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सम्बन्धित निकायलाई आफ्नो नाममा रहेको वा प्रयोग गरिरहेको जग्गाको विस्तृत विवरण संकलन गरी तोकिएको ढाँचामा पठाउन भनेको छ ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च अदालत, संवैधानिक आयोगहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मन्त्रालयहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला समन्वय समितिका कार्यालयहरू तथा देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सरकारी जग्गाको विवरण माग गरेको छ ।

मन्त्रालयका अनुसार सरकारी निकायको नाममा कायम रहेका, भोगाधिकार प्राप्त भएका, लिजमा लिइएका वा अन्य निकायले प्रयोग गरिरहेका घरजग्गाको एकीकृत अभिलेख तयार गर्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका अस्पताल, विभाग, केन्द्र, प्रतिष्ठान तथा अन्य निकायलाई माग गरिएअनुसारको विवरण प्रमाणसहित संकलन गरी तोकिएको समय साउन १ गते भित्र पठाउन आग्रह गरेको छ ।

सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेखीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि देशभरका सरकारी निकायमा रहेको जग्गाको अवस्था यकिन गर्न विवरण संकलन अभियान अघि बढाएको जनाएको छ ।

Exit mobile version