एमाले अध्यक्ष ओलीलाई ‘हटाउन’ ८७ प्रतिशत एमालेको मत (हे. सर्वेक्षण)

नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने मत प्रकट गरेका छन् ।

पार्टीले आन्तरिक रूपमा गरेको सर्वेक्षणमा आफ्नो मत प्रकट गर्दै दुई तिहाई नेता तथा कार्यकर्ताले अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आफ्नो मत प्रकट गरेका हुन् ।

१०.५ प्रतिशत नेता तथा कार्यकर्ताले भने अहिलेको नेतृत्व नै ठिक रहेको मत प्रकट गरे ।

साथै, बाँकी नेता तथा कार्यकर्ताले भने कुनै सरोकार राखेनन् ।

त्यस्तै, पार्टीको नेतृत्वको आचरणबारे गरिएको प्रश्नमा ९५.४ प्रतिशत नेता तथा कार्यकर्ताले सुध्रिनुपर्ने धारणा राखे भने कार्यशैलीको प्रश्नमा पनि ९४.९ प्रतिशतले सुध्रिनुपर्ने धारणा व्यक्त गरे ।

अहिलेको अवस्थामा एमाले अगाडि बढ्न नसक्ने धेरै नेता तथा कार्यकर्ताको मत देखिएको छ । आन्तरिक सर्वेक्षणमा ९१.४ प्रतिशतले अहिलेकै अवस्थामा एमाले रूपान्तरण हुनुपर्ने मत प्रकट गरेका छन् भने ७.४ प्रतिशतले भने सक्ने दाबी गरे ।

पार्टी नीतिको सन्दर्भमा पनि अधिकांश एमाले नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको देखिएको छ ।

विद्यमान पार्टीको नीति परिमार्जन हुनुपर्ने पक्षमा ८७.५ प्रतिशतले मत प्रकट गरेका छन् भने १०.५ प्रतिशतले हालकै नीति ठिक रहेको धारणा राखेका छन् ।

एमालेमा अहिले देखिएको समस्या समाधानको लागि विशेष महाधिवेशन गर्नुपर्ने धेरैको मत रहेको देखिएको छ ।

४७.७ प्रतिशत नेता तथा कार्यकर्ताले विशेष महाधिवेशन गर्नुपर्ने मत प्रकट गरेका छन् भने २५ प्रतिशतले अर्लि महाधिवेशन गर्नुपर्ने पक्षमा आफ्नो मत प्रकट गरेका छन् । तर, २४ प्रतिशत एमालेले भने सो विषयमा कुनै धारणा नै राख्न चाहेनन् ।

एमालेमा नेतृत्व हटाउँदा कुन तहको व्यक्ति ल्याउँदा ठिक होला भन्ने प्रश्न पनि एमालेले आन्तरिक सर्वेक्षणमा राखेको थियो । सो प्रश्नमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाट ल्याउनुपर्ने मत प्रकट गरेका छन् भने १६.७ प्रतिशतले पदाधिकारीबाट ल्याउनुपर्ने मत प्रकट गरे ।

Exit mobile version