जर्मनीको सशस्त्र सेना (बुन्डेसवेहर) मा कार्यरत ६० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै प्रकारको यौन दुर्व्यवहारको सिकार भएको एक अध्ययनले देखाएको छ। अश्लील टिप्पणी गर्नेदेखि शारीरिक दुर्व्यवहारसम्मका घटना सेनाभित्र हुने गरेको अध्ययनले उजागर गरेको हो।
वाममध्यपन्थी सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) का नेता तथा जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको अध्ययनले सेनाभित्र हुने यौन दुर्व्यवहारका अधिकांश घटना औपचारिक रूपमा बाहिर नआएको देखाएको छ।
यस्ता घटनाको वास्तविक अवस्था पत्ता लगाउन गरिएको अध्ययनमा सहभागीलाई अनलाइनमार्फत ४१ वटा विस्तृत प्रश्न सोधिएको थियो। उनीहरूले आफ्नो पहिचान गोप्य राखेर जवाफ दिन सक्ने व्यवस्था गरिएको थियो।
प्रतिवेदन सार्वजनिक गर्दै रक्षामन्त्री पिस्टोरियसले भने, ‘यौनजन्य दुर्व्यवहारको अवस्था आधिकारिक रूपमा सार्वजनिक भएका घटनाको तुलनामा निकै बढी छ।’ अध्ययनअनुसार यस्ता घटनामध्ये एक तिहाइभन्दा कम मात्रै औपचारिक रूपमा उजुरी हुने गरेका छन्।
जर्मन सेनाका सर्वोच्च सैन्य अधिकारी जनरल कार्स्टन ब्रेयरले पनि अध्ययनले देखाएको तथ्यांक आधिकारिक रूपमा दर्ता भएका घटनाभन्दा तीनदेखि पाँच गुणासम्म बढी रहेको बताए।
अध्ययनले जर्मन सेनाभित्र यौन हिंसा तथा दुर्व्यवहार प्रणालीगत समस्याका रूपमा रहेको पुष्टि गरेको छ। यसले सेनामा महिला भर्ती हुन चाहनेको संख्या घटाउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
रक्षामन्त्री पिस्टोरियसले सेनाको यौन दुर्व्यवहारविरुद्धको कार्ययोजनाको प्रस्तावनामा मानव मर्यादाको सम्मान संविधानको सर्वोच्च सिद्धान्त भएको उल्लेख गरेका छन्।
उनले पारस्परिक सम्मान, सहकार्य, सैनिक भाइचारा र जिम्मेवार नेतृत्वलाई सेनाका आधारभूत मूल्यका रूपमा व्याख्या गर्दै यौन हिंसा तथा दुर्व्यवहारको सेनामा कुनै स्थान नरहेको बताएका छन्।
जर्मन सेनामा यौन दुर्व्यवहारका चार तह
प्रश्नावलीमा सहभागी सैनिकमध्ये चार हजारले सेवाकालमा यौन दुर्व्यवहार भोगेको बताएका थिए। यसलाई समग्र सैनिक संख्याका आधारमा विश्लेषण गर्दा ६० प्रतिशतभन्दा बढी सैनिक प्रभावित भएको देखिएको हो।
रक्षामन्त्री पिस्टोरियसका अनुसार विशेषगरी तल्लो दर्जामा कार्यरत युवा महिला सैनिक यस्ता घटनाबाट बढी प्रभावित छन्। पुरुष सैनिकमध्ये पनि गैर-विषमलिंगी सैनिकहरू तुलनात्मक रूपमा बढी प्रभावित भएको अध्ययनमा उल्लेख छ।
उनका अनुसार यस्ता दुर्व्यवहार गर्नेमा अधिकांश पुरुष छन्।
अध्ययनमा यौन दुर्व्यवहारलाई चार तहमा वर्गीकरण गरिएको थियो।
पहिलो तहमा यौनजन्य टिप्पणी तथा अश्लील अभिव्यक्तिलाई समेटिएको छ। सर्वेक्षणमा सहभागी महिला सैनिकमध्ये झन्डै ४० प्रतिशत र पुरुष सैनिकमध्ये १६ प्रतिशतले यस्तो अनुभव भोगेको बताएका छन्।
त्यस्तै, १५ प्रतिशतले आफ्नो इच्छाविपरीत खिचिएका वा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर परिवर्तन गरिएका तस्बिरमार्फत दुर्व्यवहार भएको बताएका छन्।
शारीरिक दुर्व्यवहार भोगेको बताउने महिला सैनिक नौ प्रतिशत र पुरुष सैनिक तीन प्रतिशत छन्। त्यस्तै, महिला र पुरुष दुवै सैनिकमध्ये दुई प्रतिशतले जर्मन सेनाभित्र प्रत्यक्ष यौन हिंसा भोगेको बताएका छन्।
अध्ययनले देखाएको तथ्यांक वास्तविक अवस्थाभन्दा कम पनि हुन सक्ने देखिएको छ। सर्वेक्षणमा सहभागी महिला तथा पुरुष सैनिकमध्ये झन्डै एक तिहाइले आफ्ना माथिल्लो तहका अधिकारीप्रति विश्वास नभएको वा उजुरी गर्दा गम्भीर अनुसन्धान नहुने आशंकाका कारण घटना सार्वजनिक नगरेको बताएका छन्।
पिस्टोरियसद्वारा कार्ययोजना सार्वजनिक
रक्षामन्त्री पिस्टोरियसले सेनाभित्र हुने यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति अपनाउने बताउँदै आएका छन्। त्यसलाई कार्यान्वयन गर्न उनले नयाँ कार्ययोजना अघि सारेका छन्।
बुन्डेसवेहरका अनुसार उक्त कार्ययोजना तीन मुख्य आधारमा तयार गरिएको छ।
पहिलो आधार रोकथाम हो। सेनाले यौन दुर्व्यवहारसम्बन्धी विषयलाई अनिवार्य तालिम तथा योग्यता विकास कार्यक्रमको हिस्सा बनाउने जनाएको छ।
जनरल ब्रेयरले अध्ययनको नतिजा सार्वजनिक गर्दै सेनाका सबै तहको तालिममा सुरुदेखि नै यौन दुर्व्यवहारसम्बन्धी विषय समावेश गरिने बताए।
दोस्रो आधार अनुसन्धान प्रक्रियालाई व्यावसायिक र प्रभावकारी बनाउनु हो। यसअन्तर्गत उजुरी गर्ने स्पष्ट निकाय, सम्पर्क बिन्दु र अनुसन्धान प्रक्रिया निर्धारण गरिनेछ।
त्यस्तै, अनुशासनात्मक कारबाहीमा परेका सैनिकको सजाय सम्बन्धित युनिटका अन्य सैनिकलाई समेत जानकारी गराइनेछ। यसलाई सैनिकहरूसमक्ष कारबाही सार्वजनिक गर्ने प्रक्रिया भनिएको छ। यस्तो पारदर्शिताले पीडितको विश्वास बढाउने र अन्य सैनिकलाई यस्ता गतिविधिबाट निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।
पिस्टोरियसका अनुसार सेनाभित्र उजुरी गर्ने माध्यमबारे जानकारीको कमी मात्र होइन, ती माध्यमप्रति विश्वासको समेत अभाव छ।
उनले दुर्व्यवहारप्रति सहनशीलता देखाउने वा त्यसलाई रोक्न प्रभावकारी कदम नचाल्ने अधिकारीलाई नेतृत्वदायी जिम्मेवारीमा नराखिने स्पष्ट पारेका छन्।
उनले भने, ‘जो व्यक्ति उदाहरणीय बन्न सक्दैन, दुर्व्यवहारलाई सहन्छ वा त्यसविरुद्ध प्रभावकारी कदम चाल्दैन, उसले अब नेतृत्वदायी पदमा रहन पाउने छैन।’
तेस्रो आधार पीडितलाई सहयोग उपलब्ध गराउनु हो। यसअन्तर्गत गोप्य रूपमा उजुरी गर्न सकिने छुट्टै निकाय स्थापना गर्ने विषयमा छलफल भइरहेको छ। यसले पीडितले उजुरी गर्नका लागि आफ्ना माथिल्लो तहका अधिकारीमाथि मात्र निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ।
अक्टोबरको अन्त्यमा जनरल ब्रेयरले तत्कालका लागि हेल्पलाइन सेवा पनि सञ्चालनमा ल्याएका थिए।
‘हेल्प’ नाम दिइएको उक्त सेवामार्फत यौन दुर्व्यवहारमा परेका सैनिकले घटनाबारे जानकारी गराउन र परामर्श लिन सक्छन्। पिस्टोरियसका अनुसार यो नाम जर्मन भाषाका सहयोग, प्रारम्भिक परामर्श, मार्गदर्शन र रोकथामसम्बन्धी शब्दको संक्षिप्त रूप हो।
हाल उक्त सेवा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा छ। भविष्यमा यसलाई २४ सै घण्टा उपलब्ध गराउने योजना छ। अनुसन्धान प्रक्रियाका क्रममा पीडितलाई मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइनेछ।
पिस्टोरियसले भने, ‘हाम्रो सेनामा रहेका प्रत्येक व्यक्तिले सम्मान, सुरक्षा र निष्पक्ष व्यवहार पाउने विश्वास गर्न सक्नुपर्छ।’
जनरल ब्रेयरले पनि सुरक्षित वातावरण र विश्वास कायम भएमा मात्रै सैनिकहरू जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा तयार हुने बताए।
राजनीतिक दलका नेताद्वारा सुधारको माग
जर्मनीका विभिन्न राजनीतिक दल, विशेषगरी ग्रिन्स पार्टीका नेताहरूले सेनाभित्र हुने यौन दुर्व्यवहारका घटना हेर्न बाह्य निकाय गठन गर्नुपर्ने माग गर्दै आएका छन्।
ग्रिन्स पार्टीकी सुरक्षा नीतिसम्बन्धी प्रवक्ता सारा नान्नीले सैनिक महिलाले यस्ता घटनाको उजुरी आफ्ना माथिल्लो तहका अधिकारीसमक्ष मात्रै गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
अध्ययनको तथ्यांक सार्वजनिक हुनुअघि सार्वजनिक प्रसारण संस्था जेडडीएफको मोर्गेनमागाजिन कार्यक्रममा बोल्दै उनले सेनाभन्दा बाहिर स्वतन्त्र उजुरी केन्द्र स्थापना गर्नुपर्ने धारणा राखेकी थिइन्।
जर्मन संसद् बुन्डेस्टागको रक्षा समितिकी सदस्यसमेत रहेकी नान्नीले भनिन्, ‘यौनजन्य मौखिक हिंसाको रूपमा समेत बुझिने टिप्पणी नसुनी एक साता बिताउन सक्ने महिला निकै कम छन् भन्ने मलाई लाग्छ।’
त्यस्तै, जर्मनीको प्रमुख रूढिवादी दलहरूको संसदीय समूह सीडीयू/सीएसयूका रक्षा नीतिसम्बन्धी प्रवक्ता थोमस एर्न्डलले पनि सेनाभित्र महिला तथा पुरुष सैनिकको मर्यादा उल्लंघन गर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्।
उनले मंगलबार भनेका थिए, ‘महिला वा पुरुष सैनिकलाई अपमान गर्ने, उनीहरूको मर्यादा उल्लंघन गर्ने वा महिलालाई सेनामा समान हैसियतमा सेवा गर्ने अधिकारबाट वञ्चित गर्ने जोसुकैले पनि सैनिकको मूल्यमान्यता र आचरणको आधारभूत सिद्धान्त उल्लंघन गर्छ।’
‘इनरे फ्युर्ङ’ भनिने बुन्डेसवेहरको मार्गदर्शक सिद्धान्तअनुसार सैनिकहरू लोकतान्त्रिक मूल्य मान्यतामा बाँधिएका ‘सैनिक पोसाकमा नागरिक’ हुन्।
एर्न्डलले चौबीसै घण्टा सम्पर्क गर्न सकिने गरी स्थापना गर्न लागिएको स्वतन्त्र सहायता केन्द्रको योजनाको स्वागत गरेका छन्।
कसरी गरिएको थियो अध्ययन ?
जर्मन सेनाभित्र हुने यौन दुर्व्यवहारसम्बन्धी उक्त अध्ययन पूर्वसैनिक संसदीय आयुक्त इभा होगलले आफ्नो कार्यकाल सन् २०२४ मा समाप्त हुनुअघि गराउन लगाएकी थिइन्।
संसदीय आयुक्तले जर्मन संसद्का तर्फबाट सेनासम्बन्धी गुनासा र समस्याको निगरानी गर्ने जिम्मेवारी निर्वाह गर्छन्।
अध्ययन पोट्सडामस्थित जर्मन सेनाको सैन्य इतिहास तथा सामाजिक विज्ञान केन्द्रले गरेको थियो।
अनुसन्धानकर्ताहरूले करिब २५ हजार महिला तथा पुरुष सैनिकलाई सर्वेक्षणमा सहभागी हुन आग्रह गरेका थिए। तीमध्ये करिब १८ प्रतिशतले मात्रै जवाफ दिएका थिए।
अनुसन्धानकर्ताहरूले प्राप्त नतिजालाई जर्मन सेनाको समग्र अवस्थाको प्रतिनिधित्व गर्ने तथ्यांक मानेका छन्। सर्वेक्षणमा सहभागी केही सैनिकले भने जवाफ दिने समयसम्म सेनाको सेवा छाडिसकेका थिए।
रक्षामन्त्री पिस्टोरियसले आगामी दिनमा यस्तो अध्ययन नियमित रूपमा दोहोर्याइने बताएका छन्।
स्रोतः यूरोन्यूज
