पोखरामा जीप दुर्घटना: एकको मृत्यु, १२ घाइते

पोखरा । पोखरामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च१३४४ नम्बरको जिप गए राति पौने १० बजे पोखरा-२३ दुण्डेफाँटमा दुर्घटना भएको हो।

कास्की प्रहरीका अनुसार दुर्घटना लगत्तै घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी हस्पिटल लगिएको थियो।

पर्वत घर भई पोखरा-२४ लौरुक बस्ने जीप चालक समेत रहेका २३ वर्षीय मिलन गुरुङलाई चिकित्सकले उपचारकै क्रममा बिहान पौने तीन बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १५ वर्षीय विवेक बिक, १६ वर्षीय विवस पराजुली, १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली रहेका छन् ।

यसैगरी १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version