समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित विशेष समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरियो ।
गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, संघकी अध्यक्ष जानुका पराजुली र प्रतिभा छनोट समितिका संयोजक बाबुराम गिरीले कोइरालालाई सम्मान पत्र र १५ हजार ८८ रुपैयाँ राशिको पुरस्कार अर्पण गरे ।
पुरस्कार ग्रहण गरेपछि कोइरालाले निजी क्षेत्र सबल रहे मात्र मिडिया क्षेत्र पनि सबल हुने धारणा राखे ।
‘अहिले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको महामारीका बेला सही सूचना र समाचार ओझेलमा परेका छन्,’ उनले भने, ‘यसका लागि आम नागरिकमा मिडिया साक्षरता हुनु जरुरी छ ।’
सरल जीवनका अनेक मार्ग हुँदाहुँदै पनि समाज हितका लागि आफूले पत्रकारिताको कठिन बाटो रोजेको उनले बताए ।
साढे २ दशकदेखि पत्रकारितामा सक्रिय कोइराला हाल समाधान मिडियामा प्रधान सम्पादक छन् ।
२०५९ सालदेखि काठमाडौंबाट पत्रकारिता सुरु गरेका उनले १८ वर्षसम्म ‘द हिमालयन टाइम्स’ र ‘अन्नपूर्ण पोस्ट’ मा सहसम्पादक तथा ब्युरो प्रमुखका रूपमा काम गरे । उनी गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक समेत थिए ।
यसबाहेक उनले आदर्श समाज दैनिकमा सम्पादक र समाधान मिडियामा कार्यकारी सम्पादकको जिम्मेवारी निभाएका थिए ।
पत्रकारितासँगै कोइराला प्राध्यापन र प्रशिक्षणमा पनि उत्तिकै सक्रिय छन् । उनले लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा आमसञ्चार र पत्रकारिता विषय पढाउँछन् ।
साथै भद्रकाली माध्यमिक विद्यालय र पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आमसञ्चार र सामाजिक अध्ययन शिक्षण गर्छन् । उनले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा एमए गरेका छन् ।
कोइरालाको कर्मको मूल्यांकन गर्दै यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई सम्मानित गरेका छन् ।
