पोखरामा मोबाइल महासंघको निःशुल्क आँखा शिविर, २ सय लाभान्वित

पोखरा । नेपाल मोबाइल महासंघ, गण्डकी प्रदेश महासंघ (गण्डकी प्रदेश वितरक संघ) तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको संयुक्त आयोजनामा पोखरामा दुई दिने वृहद् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

असार १७ र १८ गते आयोजित उक्त शिविर विशेष गरी मोबाइल तथा ल्यापटप टेक्निसियनहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।

शिविरमा कुल १९७ जनाले आँखाको परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको आयोजकले जनाए । जसमा ७० जना मोबाइल तथा ल्यापटप टेक्निसियन र १२७ जना सर्वसाधारण सहभागी रहेको तथ्यांक छ ।

मोबाइल तथा ल्यापटप टेक्निसियनहरूको आँखा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर नेपालमै पहिलो पटक गण्डकी प्रदेशबाट यस्तो कार्यक्रमको सुरुवात गरिएको नेपाल मोबाइल महासंघका केन्द्रीय उपाध्यक्ष उदय केसी (लाहुरे दाई)ले बताए ।

उनले यो अभियानलाई देशभर विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले भने, ‘आगामी दिनमा यस्ता स्वास्थ्य सेवा कार्यक्रम देशका सबै प्रदेशमा विस्तार गर्ने हाम्रो योजना रहेको छ ।’

कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेत्रज्योति संघ, घारीपाटनका डा. ज्ञानबहादुर बस्नेत, सहयोगी झरना बुढा क्षेत्री लगायत आँखा अस्पतालका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति उपाध्यक्ष केसीले आभार व्यक्त गरे ।

उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा संस्थालाई समेत धन्यवाद दिए ।

गण्डकी प्रदेशबाट सुरु भएको यो नौलो कार्यक्रमले प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

Exit mobile version