आज मध्यरात ‘दाबेदार’ ब्राजिल र ‘जब्बर’ नर्वेबीच हुँदैछ रोमाञ्चक भिडन्त

फिफा विश्वकपमा जब्बर माकनिएको नर्वे र उपाधिको दाबेदार मानिएको ब्राजिलबीचको बहुप्रतिक्षित खेल अमेरिकाको न्यू योर्कस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार, राति ०१:४५ बजे शुरू हुनेछ ।

पाँचपटकको च्याम्पियन ब्राजिल र २८ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको नर्वेबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यो खेललाई समकालिन विश्व फुटबलका दुई सुपरस्टार नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरबीचको टक्करका रूपमा पनि हेरिएको छ ।

ब्राजिलका लागि यो विश्वकप सहज भने देखिएको छैन । प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिलले समूहगत चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दा निकै ठूलो दबाब महसुस गरेको थियो ।

यद्यपि, समूहगत चरणमै हाइटी र स्कटल्यान्डमाथि समान ३–० गोलको सानदार जित निकाल्दै लयमा फर्किएको ब्राजिलले अन्तिम–३२ टोलीबीचको भिडन्तमा बलियो एसियाली प्रतिद्वन्द्वी जापानलाई पाखा लगाएको थियो ।

जापानविरुद्धको खेलमा शुरूमै १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै ब्राजिलले अन्तत: २–१ को महत्त्वपूर्ण जीत हात पारेको थियो ।

अर्कोतर्फ, नर्वे यो विश्वकपको सबैभन्दा ठूलो ‘सरप्राइज’ टोली बनेको छ । समूहगत चरणमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेको नर्वेले अन्तिम–३२ टोलीबीचको भिडन्तमा आइभरी कोस्टलाई २–१ गोलले पाखा लगाउँदै इतिहास रचेको थियो ।

नर्वेको इतिहास पल्टाउने हो भने, सन् १९९८ को विश्वकपमा ब्राजिलविरुद्ध निकालेको २–१ गोलको ऐतिहासिक जितले अहिले पनि स्कान्डिनेभियन टोलीको मनोबल उच्च पारेको छ । हेड टु हेडको तथ्याङ्कले पनि ब्राजिलका लागि नर्वे सधैं कठिन प्रतिद्वन्द्वी रहेको देखाउँछ ।

यो विश्वकपमा हालान्ड र भिनिसियस जुनियरले संयुक्त रूपमा ९ गोल गरिसकेका छन् । म्यानचेस्टर सिटीका गोल मेसिन हालान्ड यो विश्वकपमा पाँच गोल गर्दै आफ्नो लयको परिचय दिइसकेका छन् ।

हालान्डलाई कप्तान मार्टिन ओडेगार्डले पनि कलात्मक तरिकाले गोलका लागि बल उपलब्ध गराइरहेका छन् । हालान्डको खेल क्षमता कतिसम्म छ भन्ने कुराको प्रमाण प्रिमियर लिग र अन्तर्राष्ट्रिय मञ्चमा उनका तथ्याङ्कले दिन्छन् ।

अर्कोतिर, ब्राजिलका लागि भिनिसियस जुनियर समूहगत चरणका हरेक खेलमा गोल गर्दै टोलीका मुख्य हतियार बनेका छन् ।

ब्राजिलको मिडफिल्डमा ब्रुनो गुइमारेसले चार असिस्ट गर्दै पेलेको रेकर्ड पछ्याइरहेका छन् । लुकास पाक्वेटाको चोटले एन्सेलोटीलाई केही चिन्ता भने थपेको छ ।

तर, प्रशिक्षणमा राफिन्हाको फिर्तीले टोलीलाई राहत दिएको छ । १९ वर्षीय युवा स्टार एन्ड्रिक र रायनको प्रदर्शनले पनि ब्राजिलको आक्रमणलाई थप धारिलो बनाएको छ ।

यो खेलमा सबैको आँखा नर्वेका फरवार्ड हालान्ड र ब्राजिलका डिफेन्डर ग्याब्रियल मागालहसबीचको भिडन्तमा हुनेछ ।

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीका तर्फबाट यी दुईबीच भएका उच्चस्तरीय भिडन्तहरूले विश्वकपको मञ्चमा अझ बढी चर्चा पाएको छ ।

Exit mobile version