पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको अनुसन्धानमूलक लेख लेखन तालिमको समापन भएको छ ।
पोखरामा महानगरपालिकाको सहयोगमा आईतबारदेखि सुरु भएको तालिम बुधबार समापन भएको हो ।समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रको बौद्धिक विकास र अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले पत्रकारितालाई केवल तालिमको विषय मात्र नबनाई यसलाई गम्भीर प्राज्ञिक अध्ययन र अनुसन्धानको क्षेत्रका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
आफ्नो डेढ दशक लामो अनुभव स्मरण गर्दै डा. अर्यालले नेपालमा ’मानव सञ्चार’ का विज्ञहरूको अभाव रहेको औंल्याए । उनले विश्वविद्यालयहरूमा यो विषयको विज्ञता बढाउन आवश्यक रहेको बताउँदै नयाँ पुस्तालाई विद्यावारिधि जस्ता उच्च शैक्षिक योग्यता हासिल गर्न र प्राज्ञिक क्षेत्रमा समर्पित हुन प्रोत्साहन गरे ।
आधुनिक प्रविधिको सन्दर्भ जोड्दै उनले आर्टिफिसियल इन्टेलिजेन्सलाई पत्रकारिता शिक्षा र शिक्षण पद्धतिमा कसरी प्रयोग गर्ने भन्ने विषयमा बहस चलाउनुपर्ने बताए । ‘प्रविधिबाट भागेर वा यसलाई निषेध गरेर सम्भव छैन, बरु यसलाई सही ढङ्गले कसरी प्रयोग गर्ने भन्ने सिक्नुपर्छ,’ उनले भने ।
तालिममा सहभागी पत्रकार फडिन्द्र अधिकारी र सुश्मा नेपालीले अनुसन्धानमूलक लेख लेखन तालिममा पहिलो पटक सहभागि भएपनि तालिम निकै फलदायी भएको बताएका थिए ।
कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र परिष्कृत बनाउन यो तालिम महत्वपूर्ण हुने बताए । पछिल्लो वर्षमा महासंघले विभिन्न तालिमहरु सञ्चालन गरे पनि यो पटकको कार्यक्रम नितान्त फरक र विशेष रहेको उनको भनाइ थियो ।
तालिममा त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका डा. श्रीराम पौडेल, त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक डा. कपिल अधिकारी र पृथ्वीनारयण क्याम्पस, पोखरा, मानवशास्त्र विभागका प्राध्यापक अमृतकुमार भण्डारीले प्रशिक्षण दिएका थिए ।
तालिममा पोखराका ६० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
