सामाजिक सुरक्षा कोष (एसएसएफ) बाट प्राप्त हुने मेडिकल सुविधा प्रभावकारी र सर्वसुलभ भएको अनुभव फेदीखोला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा प्रवक्ता अविलाश गुरुङले नयाँलिपिलाई सुनाएका छन् ।
पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गराउँदा कुल खर्चको सानो हिस्सा मात्र तिर्नुपरेपछि उनले यसलाई आम नागरिकका लागि वरदानका रूपमा चित्रण गरे ।
केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रस्त गुरुङ आफ्ना छोराको पनि उपचारका लागि सो अस्पताल पुगेका थिए । अस्पतालमा सामाजिक सुरक्षा कोषका लागि छुट्टै काउन्टरको व्यवस्था भएकाले लामो लाइन बस्नु नपरेको उनले बताए ।
उपचार प्रक्रियाबारे जानकारी दिँदै उनले भने, ‘मेरो र छोराको १ हजारका दरले २ हजार रुपैयाँ डिपोजिट र डाक्टर शुल्कको २० प्रतिशतका दरले ८० रुपैयाँ बुझाएपछि ओपिडीमा नियमित बिरामी झैं चेकजाँच भयो ।’
ल्याबमा रगत जाँच र एक्सरे गर्दा पनि कुल बिलको २० प्रतिशत रकम मात्र बुझाउनुपरेको र रिपोर्ट सामान्य रहेको उनले जानकारी दिए । औषधी खरिद गर्दा समेत उपकरणजन्य वस्तु बाहेकको बिलमा २० प्रतिशत रकम मात्र भुक्तानी गरे पुग्ने उनले बताए ।
उनले भने, ‘चेकजाँचको करिब ६ हजार ५ सय रुपैयाँ बिलमध्ये औषधीसहित करिब १ हजार २ सय रुपैयाँ मात्र तिर्नुपर्यो, बाँकी रकम सामाजिक सुरक्षा कोषले नै व्यहोर्ने रहेछ ।’
उपचार सकिएपछि अस्पतालमा जम्मा गरेको २ हजार रुपैयाँ डिपोजिट समेत फिर्ता पाएको उनले बताए ।
मेडिकल सुविधाबापत प्राप्त हुने २५ हजार रुपैयाँमध्ये अब १८ हजार रुपैयाँ बाँकी रहेको र सो रकम असार मसान्तसम्म उपयोग गर्न सकिने जानकारी अस्पतालले दिएको उनले उल्लेख गरे ।
स्वास्थ्य सेवा महँगो र सामान्य नागरिकको पहुँचभन्दा टाढा पुगिरहेको अवस्थामा सामाजिक सुरक्षा कोष निकै सहयोगी भएको उनको भनाइ छ । उनले एक जिम्मेवार नागरिक बनेर सामाजिक सुरक्षा कोषको फाइदाबारे बुझ्न र समयमै यसमा योगदान गर्न सबैलाई आग्रह समेत गरे ।
स्याङ्जाको फेदीखोला गाउँपालिका अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षासँग जोड्ने नेपालकै पहिलो पालिका हो ।
गाउँपालिकाले अनौपचारिक क्षेत्रका मजदुरसँगै विद्यालय कर्मचारी, इसिडी शिक्षक, करारका कर्मचारी, निजी शिक्षक र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गरिसकेको छ ।
