रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको नाटक गर्ने संचालक र कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।
१ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भन्दै झुटो उजुरी दिने संचालक दिपक बीके र कामदार नविन बीकेलाई प्रहरीले पक्राउ गरेको हो ।
१७ गते बिहान १० बजे पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीमा पसलको सटरमा लगाएको साँचो समेत तोडी सेफमा रहेको धनमाल चोरी भएको दाबी गरिएको थियो ।
तर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले अनुसन्धान गर्दा उक्त घटना योजनावद्ध नाटक भएको खुलेको हो ।
प्रहरीले अनुसन्धानका क्रममा पसल संचालक दिपक बीकेको घरबाट ५ तोला ४.१ लाल तौलको सुनका गरगहना तथा १४ केजी ३०० ग्राम बराबरको चाँदीको सिक्का, दाना र ढिक्का बरामद गरेको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ पुल्चोक बस्ने ४१ वर्षीय दिपक बीके र तिलोत्तमा नगरपालिका वडा नम्बर २ बनवाटिका बस्ने ४७ वर्षीय नविन बीके रहेका छन् ।
उनीहरूले आर्थिक लाभ वा अन्य कुनै उद्देश्यले आफ्नै पसलमा चोरीको प्रपञ्च रचेको प्रहरीले जनाएको छ ।
