पोखरा महानगरपालिकाले पोखरा बसपार्कको दीर्घकालीन व्यवस्थापन, आधुनिकीकरण र सार्वजनिक हितका लागि अघि बढाइएको अभियानमा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
महानगरले विकास निर्माणका काममा विभिन्न धारणा र असहमति हुनु स्वाभाविक भए पनि विभिन्न बहाना वा भ्रम सिर्जना गरेर काममा ढिलाइ गर्ने प्रयास क्षणिक मात्र हुने स्पष्ट पारेको छ।
महानगरका मेयर धनराज आचार्यले बसपार्कको भित्री भागमा लालपुर्जासहित बसोबास गरिरहेका नागरिकले २४ गतेभित्र स्थान खाली गर्ने गरी काम सुरु गरेकोमा उनीहरूलाई धन्यवाद दिएको छ।
यस्तै, बसपार्कभित्रै बसोबास गरिरहेका सुकुम्बासी तथा भूमिहीन परिवारको व्यवस्थापनका लागि गठित ‘जग्गा खोजी समिति’ले महानगर प्रमुखसमक्ष प्रतिवेदन बुझाएको छ।
महानगरले वैकल्पिक स्थानमा आवश्यक पूर्वाधारसहित नयाँ बस्ती पुनर्स्थापनाको अन्तिम तयारी भइरहेको भन्दै ती परिवारलाई छोटो अवधिका लागि आफ्नो व्यवस्थापन आफैं मिलाउन आग्रह गरेको छ। यस प्रक्रियामा थप सहयोग जरुरी हुनेका लागि महानगरले सहजीकरण गर्ने समेतमेयर आचार्यले जनाएका छन् ।
मेयरले महानगरले बसपार्कको उत्तरतर्फ लालपुर्जा भएका ‘साहु’ थरका जग्गाधनीलाई व्यवसायीहरूलाई ‘नछाड्न’ भनेर सानो स्वार्थमा नअल्झिनसमेत चेतावनी दिएका छन् ।
‘तपाईंहरूको अदालतको यात्रा हामीले जवाफ नफर्काउँदासम्म मात्रै हो। तपाईंहरूको सेटिङ हिजो चल्यो होला, अब चल्दैन’ मेयरले भनेका छन् ।
छानबिनपछि जग्गाको वास्तविक क्षेत्रफल यकिन हुने भन्दै महानगरमा एउटा कुरा गर्ने र अदालतको सहारा लिएर काम रोक्न खोज्ने बाटो सुल्टो नभएको महानगरले बताएको छ।
महानगरले भाडामा बस्ने व्यवसायीलाई घरबेटीको निहित स्वार्थका लागि ‘मानवढाल’ नबन्न समेत सचेत गराएको छ।
अदालतबाट जारी हुने कारण देखाऊ आदेश एउटा सामान्य कानुनी प्रक्रिया मात्र भएको र यो अन्तिम फैसला नभएको भन्दै भ्रममा नपर्न व्यवसायीलाई आग्रह गरिएको छ। महानगरले व्यक्तिगत सम्पत्ति अधिकारप्रति संवेदनशील रहेको भन्दै कानुन र छानबिन समितिको सिफारिस बमोजिम नै सबै प्रक्रिया अगाडि बढ्ने बताएको छ।
वैशाख ४ गतेदेखि नै पर्याप्त सूचना दिइएको उल्लेख गर्दै महानगरले ‘बिना सूचना हटायो’ भन्ने भ्रम नछर्न समेत चेतावनी दिएको छ।
पोखराको दीर्घकालीन हित र व्यवस्थित सहरी विकासका लागि यो अभियान सुरु गरिएको भन्दै कसैको भ्रम वा स्वार्थमा परेर आफ्नो सामग्री व्यवस्थापनलाई अन्योलमा नराख्न महानगरले पुनः अनुरोध गरेको छ।
