स्वास्थ्य बीमा समस्याको समाधानार्थ छलफलमा जुटिन् मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नका लागि छलफल गरेका छन् ।

मन्त्री मेहताले स्वास्थ्य बीमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग आज मन्त्रालयमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गरेका हुन् ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले स्वास्थ्य बिमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे ।

‘स्वास्थ्य बीमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ’, उनले भने, ‘स्वास्थ्य बीमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुहोस् ।’

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताए । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य बिमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताए । उनले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा के-कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।

बोर्डका कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुन-कुन परीक्षणको दररेट कम भएका छन् र ती दररेटका सम्बन्धमा अस्पतालसँग छलफल गरेर अगाडि बढ्न सकिने बताए ।

छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राखेका थिए ।

Exit mobile version