अन्ततः लिटल स्टेपले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने, खोलाघरका संरचना हटाइने

फिर्के खोलाको खोलाघर क्षेत्रमा निर्माण गरिएको विद्यालय भवन नहटाउन माग गर्दै लिटल स्टेप स्कुलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सहमति भएको छ।

विद्यालय प्रशासन र पोखरा महानगरपालिकाबीच भएको छलफलपछि विद्यालयले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिनुका साथै खोलाघरभित्र रहेको मुख्य भवनसहितका सम्पूर्ण संरचना हटाउने सहमति जनाएको हो।

सहमतिअनुसार विद्यालय सञ्चालनका लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा नक्सापासलगायतका कानुनी तथा प्रशासनिक कार्यलाई प्राथमिकतामा राख्दै पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ।

दुवै पक्षबीच भएको सहमतिले फिर्के खोला संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

साथै कानुनी शासनको कार्यान्वयन, वातावरणीय संरक्षण तथा शैक्षिक संस्थाको दिगो व्यवस्थापनबीच सन्तुलन कायम गर्न यसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

फिर्के खोलाको अतिक्रमण हटाउने अभियानअन्तर्गत पोखरा महानगरपालिकाले विभिन्न संरचना व्यवस्थापन तथा हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।

Exit mobile version