‘फिर्के खोलाघरका संरचना भदौं १५ भित्र हटाइसक्नु’ – महानगर

पोखरा महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक बहाव फर्काउन र कोरिडोर निर्माण गर्न खोला क्षेत्रका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।

महानगरले खोला घरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन आउँदो २०८३ भदौ १५ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ ।

नगर प्रमुखको अध्यक्षतामा बसेको फिर्के खोला क्षेत्रमा पर्ने ८ वटै वडाका वडाध्यक्षहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले खोला घरभित्रको पछिल्लो अवस्थाबारे स्थलगत अध्ययन गरी सात दिनभित्र पूर्ण विवरणसहितको प्रतिवेदन पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको छ ।

यसअघि खोला घरभित्र बनेका संरचनाहरू आफै हटाउने भनी महानगरसमक्ष मौखिक सहमति गरेका तर हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थालाई महानगरले पुनः सूचित गरेको छ ।

‘२०८३ भदौ १५ गतेभित्र अनिवार्य रूपमा ती संरचना हटाउनुपर्नेछु’, महानगरले भनेको छ । यदि तोकिएको समयभित्र संरचना नहटाए महानगरले प्रचलित कानुनबमोजिम आफैले हटाउने र सो बापत लाग्ने सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने चेतावनी दिएको छ ।

पोखराको अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्के खोलालाई सफा, स्वच्छ, प्राकृतिक बहावमा फर्काई सुन्दर र पर्यावरणमैत्री बनाउने महानगरको योजना रहेको छ ।

व्यवस्थित कोरिडोर निर्माण गर्ने उद्देश्य अनुरूप अतिक्रमण हटाउने अभियानलाई पूर्णता दिन लागिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार २०८३ असोज १ गतेदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड-२०८० (दोस्रो संशोधन २०८२) बमोजिम मापदण्ड कार्यान्वयन गर्दै कोरिडोर निर्माण सम्बन्धी प्राविधिक सहित अन्य आवश्यक कार्यहरू प्रारम्भ गरिने छ ।

Exit mobile version