बागलुङमा हावाहुरीसहित परेको असिनापानीले कृषि बालीमा ठुलो क्षति पुर्याएको भन्दै प्रदेश सभा सदस्यहरुले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन् ।
बजेट अधिवेशन अन्तर्गत मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले बालीनाली नष्ट हुँदा किसान मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा नेकपाको प्रमुख सचेतक कुसुम बुढा पुनले बागलुङका विभिन्न ठाउँमा हावाहुरी र असिनापानीले घरका छाना उडाउनुका साथै बालीनालीमा ठुलो क्षति पुर्याएको बताइन् ।
उनले भनिन्, ‘गलकोट नगरपालिका वडा नम्बर ५ को दाँगामा ७ घरमा क्षति पुगेको छ, बिजुलीका पोल ढलेका छन् र अन्नबाली नष्ट भएको छ ।’ उनले क्षतिको मूल्यांकन गरी समयमै राहत उपलब्ध गराउन माग गरिन् ।
यस्तै कांग्रेसका दीपेन्द्रबहादुर थापाले पनि बागलुङमा असिनापानीले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राहतको माग गरे । थापाले बागलुङ बजारदेखि तित्याङ भकुन्डे जाने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै समयमै काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।
यता, कास्कीका सन्दर्भमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक देवका पहारी र नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले पोखराका विभिन्न वडा र अन्नपूर्ण गाउँपालिकामा मकै तथा तरकारी बालीमा असिनाले व्यापक क्षति पुर्याएको बताए ।
पहारीले किसानलाई उचित क्षतिपूर्ति दिन र कृषि बीमालाई प्रभावकारी बनाउन आग्रह गरिन् । बरालले पोखरा महानगरपालिकाका वडा नम्बर २२, २३, २४ र २५ मा किसानले लगाएको मकै, काँक्रो र तरकारी खेती पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।
यस्तै फणिन्द्र देवकोटाले गोरखामा हावाहुरी र असिनाले अन्नबालीमा क्षति पुर्याउनुका साथै पहिरोले घर बगाउँदा एक बालक घाइते भएको बताए । उनले पीडितलाई तत्काल राहत दिन र मुग्लिन–पोखरा सडक खण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि नियमन गर्न माग गरे ।
