सोमबार बसेको संसद बैठकमा सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उनीहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे ।
सुर्तीजन्य पदार्थबाट वार्षिक ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन्।
उनीहरूले सुर्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाए। सांसदहरूले सुर्तीजन्य पदार्थमाथि भारतमा ५८ र बंगलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिए ।
सांसद कुशुम महर्जनले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरे।
सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे। ‘सुर्तीजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ’, उनले भने।
