मेरो क्रिकेटमा ‘कमब्याक’ खेल्नमात्रै नभएर जित्न होः – डा. पाण्डे

डा इशान पाण्डे

अहिले मलाई कस्तो महसुस भइरहेको छ भने, मैले वर्षौंदेखि जुन बिउमा पानी हालिरहेको थिएँ, अहिले त्यो बिउ पलाएर फूल फुल्न थालेको छ। म एकदमै खुसी छु।

साँचो भन्नुपर्दा, मैले राष्ट्रिय टोलीका लागि कलको अपेक्षा त अघिल्लो वर्षदेखि नै गरिरहेको थिएँ। तर यसपटक टोलीमा आउँदा मेरो एउटै लक्ष्य थियो—अघिल्लो पटकको खेल र अहिलेको खेलमा केही फरक देखाउने। मलाई केवल खेल खेल्नु मात्र थिएन, टोलीमा एउटा बलियो प्रभाव छोड्नु थियो र टोलीलाई म्याच जिताउन योगदान पुर्‍याउनु थियो।

धेरैले मलाई बाँया हाते ब्याटर भएकोले टोलीमा स्थान बनाएको हो कि भनेर पनि सोध्छन्। मेरो विचारमा, म नभएर जोसुकै बाँया हाते ब्याटर टोलीमा हुँदा पनि त्यसले टिमलाई फाइदा नै पुग्छ। मैले डोमेस्टिक क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरिरहेको थिएँ र मलाई लाग्थ्यो कि म यो स्थानको लागि योग्य छु।

प्रशिक्षक र म्यानेजमेन्टले मलाई एकदमै सरल भूमिका दिनुभएको छ, उहाँहरूले कुरालाई जटिल बनाउनुभएको छैन। मलाई मात्र यति भनिएको थियो कि म ओभरको अन्त्यसम्म मैदानमा टिकिरहनुपर्छ। मलाई कुनै निश्चित ‘स्क्रिप्ट’ दिइएको थिएन, मलाई जसरी खेल्न मन लाग्छ, त्यसरी नै खेल्ने तर अन्तिमसम्म क्रिजमा बसिरहने जिम्मेवारी मेरो थियो।

कुशल र आसिफले जुन विष्फोटक सुरुवात दिनुभयो, त्यसले म र रोहित जस्ता ब्याटरलाई पिचमा समय लिएर ‘एङ्कर’ गर्न सजिलो बनायो। सुरुमा केही डट बल खेले पनि हामीलाई थाहा थियो कि यो विकेटमा पछि रन बनाउन सकिन्छ। विशेषगरी युएसएको ब्याटिङ गहिराइ हेर्दा हामीलाई यो कन्डिसनमा जित्न २६०/२७० भन्दा बढी रन आवश्यक थियो र हामी त्यही टार्गेटमा थियौँ ।

म आएपछिका लगातार तीनवटा खेल नेपालले जितेको छ, यसमा म आफूलाई भाग्यमानी ठान्छु। हाम्रा लागि यो सिरिज एकदमै महत्त्वपूर्ण थियो र ८ मध्ये ६ वटा खेल जित्न सफल हुनु ठुलो उपलब्धि हो । तर एउटा कुरा के सत्य हो भने, जब तपाईं नेपाल लेखिएको जर्सी लगाउनुहुन्छ, तब चुनौती आफैँ सुरु हुन्छ । त्यो जर्सी लगाउने बित्तिकै एउटा छुट्टै किसिमको जिम्मेवारी महसुस हुन्छ। यदि त्यो बोझलाई सही तरिकाले ह्यान्डल गर्न सकियो भने मात्र हामी राम्रो क्रिकेट खेल्न सक्छौँ।

मलाई मेरो मेडिकल क्षेत्रका साथीहरू र सहकर्मीहरूले निकै माया र सहयोग गर्नुभएको छ । यदि उहाँहरूको साथ नभएको भए मैले मेरो एमबीबीएसको जर्नी र क्रिकेटलाई सँगसँगै अगाडि बढाउन सक्ने थिइनँ होला। यसले मेरो मानसिक तनाव पनि कम गरेको छ । नेपाल जस्तो सानो देशमा मैले जे गरे पनि मान्छेहरूले थाहा पाइहाल्छन्, त्यसैले मैले आफ्ना योजनाहरू बनाएको छु र म त्यही योजना अनुसार अघि बढिरहेको छु।

अन्त्यमा, नयाँ खेलाडीहरूका लागि मेरो सन्देश यही छ कि डोमेस्टिकमा रन बनाउनु मात्र पर्याप्त छैन । नेपाल टोलीको ढोका ती खेलाडीका लागि सधैँ खुल्ला रहन्छ, जसमा टोलीलाई खेल जिताउन सक्ने क्षमता हुन्छ । कति रन बनाइयो भन्ने कुराले भन्दा पनि टोलीलाई जिताउन कस्तो भूमिका खेलियो भन्ने कुराले बढी महत्त्व राख्छ ।

Exit mobile version