पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित ४ रोपनी जग्गा र त्यसमा बनेको १३ कोठे भवन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले फिर्ता गरेको छ ।
महानगरपालिका र उपत्यका नगर विकास समितिको ३५ दिने सूचना बमोजिम महासंघले शनिवार उक्त सम्पत्ति समितिलाई हस्तान्तरण गरेको हो ।
विसं २०६७ मा करिब १ करोड ५३ लाख लागतमा निर्माण भएको सो भवनको चाबी महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे ।
सो क्रममा गौतमले श्रमिकहरूको पसिनाले बनेको उक्त भवनको पूर्ण रूपमा सदुपयोग गर्न सुझाव दिए ।
भवनको चाबी बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुवातका रूपमा उल्लेख गरे ।
उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढंगले भवनको चाबी बुझाएको महासंघप्रति उनले आभार समेत व्यक्त गरे ।
पोखरा महानगरपालिका सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए ।
उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति वा संघसंस्थालाई समेत तत्काल खाली गर्न उनले अनुरोध गरे ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न संघसंस्था र व्यक्तिहरूले भोगचलन गर्दै आइरहेका छन् ।
पोखराको पृथ्वीचोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेकाले सो क्षेत्रसहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद आज सकिँदै छ ।
