सगरमाथाको चुचुरोबाट पोखरेली अमृतको सन्देश: ‘छोरीलाई न्याय देउ’

पोखरा महानगरपालिका वडा नम्बर १९ का अमृत परियारले संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

परियारले मे २१ का दिन बिहान १२:१६ बजे सगरमाथाको चुचुरोमा पुगेर छोरीमाथि भएको बलात्कार र हत्याबिरूध्द सरकारको ध्यानाकर्षण गराए।

सगरमाथाको शिखरबाट परियारले नेपाल सरकार र विश्व समुदायलाई सम्बोधन गर्दै महिला सुरक्षाको विषयमा गम्भीर प्रश्न गरे।

‘एउटा देशको महानता केवल हिमालको उचाइले मात्र मापन हुँदैन, आफ्ना छोरीहरू कति सुरक्षित छन् भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले शिखरबाट भने।

महिलामाथि हुने हिंसा, बलात्कार र अन्यायको अन्त्य हुनुपर्ने माग गर्दै उनले हरेक छोरीले डर बिना बाँच्न र सपना देख्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए।

सगरमाथाको काखबाट उनले न्याय नपाएका निर्दोष छोरीहरू र उनीहरूका पीडित परिवारलाई सम्झिँदै ऐक्यबद्धता जनाए।

उनले शिखरबाटै ‘छोरी बचाऔं, न्याय दिलाऔं, हिंसा अन्त्य गरौं’ भन्ने नारा गुञ्जाए। यो आवाज हिमालभन्दा पनि माथि पुगोस् भन्ने उनको चाहना थियो।

हिमाल आरोहण जस्तो कठिन यात्राका क्रममा पनि अमृतले सामाजिक मुद्दालाई प्राथमिकता दिएर मानवता र न्यायका लागि विश्वको ध्यानाकर्षण गराए।

Exit mobile version