जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) मा डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने इआरसीपी (Endoscopic Retrograde Cholangiopancreatography) सेवा सुरु गरेको छ ।

यो सेवाले पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी मार्फत पित्त नली र प्यानक्रियाज नलीका समस्या समाधान गर्ने आधुनिक उपचार प्रविधि प्रदान गर्छ ।

डा. बरालका अनुसार, इआरसीपी सेवाले जन्डिस भएका बिरामी, पित्त नली र प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको समस्या भएका बिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यसले पहिले जस्तो ठूलो शल्यक्रियाको आवश्यकता कम गरी बिरामीको आराम र स्वास्थ्य दुवैमा सुधार ल्याउनेछ ।

इआरसीपी सेवा सुरु भएसँगै ग्यास्ट्रो विभागले अन्य नयाँ उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ ।

ती सेवामा एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरो भएको ठाउँ खोल्ने बेलुन डाइलेटेसन, र पेटमा खाना खुवाउने नली राख्ने पेग ट्युब प्लेसमेन्ट समावेश छन् ।

यसैगरी, पोलिपेक्टोमी र भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि अब उपलब्ध भएको छ ।

जिएमसीका सिइओ डा.रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा.टुमाया घलेका अनुसार, यी सेवाहरूले गण्डकी प्रदेशभरका पेट, आन्द्रा, प्यानक्रियाज र कलेजोका बिरामीले आधुनिक र सहज उपचार सुविधा पाउनेछन्।

उनीहरूले भने, “अब बिरामीहरूले उपचारको लागि देशको टाढा भागमा जानुपर्ने आवश्यकता घट्नेछ, र गण्डकी प्रदेशमै उच्चस्तरीय सेवाहरू उपलब्ध हुनेछ ।”

जिएमसीको यो नयाँ पहलले स्वास्थ्य क्षेत्रलाई थप आधुनिक बनाउँदै प्रदेशभरका बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

जीएमसीमा उपलब्ध इआरसीपीलगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम र भारतीय पेन्सनर अन्तरगत इसीएचएसमा पनि उपलब्ध रहेको छ ।

Exit mobile version