पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल (जीएमसी) मा पहिलोपटक शल्यक्रिया गर्न नसकिने (इनोपेरेबल) अन्ननलीको क्यान्सर (इसोफेजियल कार्सिनोमा) भएका बिरामीमा सफल उपचार गरिएको छ ।
अस्पतालले त्यस्ता बिरामीमा सेल्फ–एक्स्पान्डेबल मेटालिक स्टेन्ट (सेम्स) प्रत्यारोपण सफलतापूर्वक गरेको हो ।
ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. शंकर बराल र उनको विशेषज्ञ टोलीले उक्त जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ । ।
अन्ननलीको क्यान्सरका कारण निल्न अत्यन्त कठिनाइ हुने तथा खाना पेटसम्म पुग्न नसक्ने अवस्थाका बिरामीका लागि मेटालिक स्टेन्टिङ प्रभावकारी उपचार विधि मानिन्छ ।
स्टेन्ट राखिएपछि अन्ननलीको साँघुरो भाग खुला भई बिरामीले पुनः सहज रूपमा खाना तथा तरल पदार्थ सेवन गर्न सक्ने चिकित्सकहरूले बताए ।
उक्त प्रक्रियाबाट लाभान्वित बिरामी लामो समयदेखि निल्न समस्या, तौल घट्ने तथा पोषण अभावको समस्याबाट पीडित थिए । सफल स्टेन्टिङपछि बिरामीको अवस्था सुधारोन्मुख रहेको डा. बरालले जनाए ।
यसैगरी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. रवीन्द्र श्रेष्ठले अस्पतालले विशेषज्ञ सेवा विस्तार र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे ।
उनले भने, ‘बिरामीलाई आफ्नै प्रदेशमा गुणस्तरीय र अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो । यस सफल प्रक्रियाले अस्पतालको क्षमता र विशेषज्ञताको स्तरलाई थप सुदृढ बनाएको छ ।’
अस्पतालकी निर्देशक डा तु माया घलेले चिकित्सक टोलीलाई बधाई दिँदै भविष्यमा अझ जटिल तथा उन्नत एन्डोस्कोपिक उपचार सेवाहरू विस्तार गरिने बताइन् ।
उनले भनिन्, ‘गण्डकी मेडिकल कलेजले बिरामीकेन्द्रित सेवा, आधुनिक उपकरण र दक्ष जनशक्तिको माध्यमबाट उत्कृष्ट स्वास्थ्य संस्था बन्ने दिशामा निरन्तर काम गरिरहेको छ ।’
प्रक्रियाको नेतृत्व गरेका डा शंकर बरालले मेटालिक स्टेन्टिङ शल्यक्रिया सम्भव नभएका अन्ननली क्यान्सरका बिरामीहरूको जीवनस्तर सुधार गर्ने प्रभावकारी उपचार भएको बताए ।
उनका अनुसार यसले बिरामीलाई सहज रूपमा खानपान गर्न मद्दत पुर्याउने, पोषण स्थिति सुधार गर्ने तथा जीवनको गुणस्तर बढाउने महत्वपूर्ण भूमिका खेल्छ ।
गण्डकी मेडिकल कलेजले यस सफलतासँगै ग्यास्ट्रोएन्टेरोलोजी तथा एन्डोस्कोपी सेवामा नयाँ उपलब्धि हासिल गरेको जनाएको छ । अस्पतालले भविष्यमा पनि अत्याधुनिक उपचार प्रविधि र विशेषज्ञ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
