जटिल रोगको उपचारसँगै स्वास्थ्य सेवामा सफलतातर्फ धौलागिरि प्रदेश अस्पताल

बागलुङस्थित धौलागिरी प्रदेश अस्पतालको मेडिसिन विभागले एक अत्यन्तै जटिल र प्राणघातक मानिएको ‘बहु-रोग’ (मल्टीसिस्टम इन्भल्भमेन्ट) भएका बिरामीको सफल उपचार गरी प्रदेशमै स्वास्थ्य सेवाको नयाँ कीर्तिमान स्थापित गरेको छ।

जटिल प्रकृतिका बिरामीलाई पोखरा वा काठमाडौँ रेफर गर्नुपर्ने बाध्यतालाई चिर्दै अस्पतालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोगबाट बिरामीलाई नयाँ जीवन दिएको हो।

मृत्युको मुखबाट जोगिए ४५ वर्षीय बिरामी

अस्पतालका अनुसार ४५ वर्षीय एक पुरुष बिरामी गम्भीर पेट दुखाइ, श्वासप्रश्वासमा कठिनाइ र बेहोसी (Altered Sensorium) को अवस्थामा अस्पताल आइपुगेका थिए। प्रारम्भिक जाँचपछि ती बिरामीमा एकैसाथ तीनवटा गम्भीर समस्याहरू देखिएका थिए:
१. अल्कोहल प्रेरित गम्भीर प्यानक्रियाटाइटिस  जसले गर्दा शरीरका भित्री अंगहरूमा गम्भीर असर पुगेको थियो।
२. फोक्सो र पेटमा पानी भरिएको जसका कारण बिरामीलाई सास फेर्न कठिन भइरहेको थियो।
३. डेलिरियम ट्रेमेन्स लामो समयको मद्यपान छुटेपछि देखिने मानसिक र शारीरिक उत्तेजनाको गम्भीर अवस्था।

चिकित्सकहरूका अनुसार यस्तो ‘मल्टीसिस्टम’ समस्या भएका बिरामीको मृत्युदर निकै उच्च हुन्छ। तर, मेडिसिन विभागको टोलीले ती बिरामीलाई ८ दिनसम्म सघन उपचार कक्षमा राखेर ‘मेकानिकल भेन्टिलेसन’, ‘थोरैसेन्टेसिस’ (फोक्सोको पानी निकाल्ने प्रक्रिया) र विशेष पोषणमार्फत सफल उपचार गरेको छ। बिरामी अहिले पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्।

धौलागिरी प्रदेश अस्पतालको मेडिसिन विभाग अहिले प्रदेशभरिकै भरपर्दो उपचार केन्द्रका रूपमा विकसित भएको छ। विभागले दुई तहमा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ:

  • जनरल मेडिसिन र ओपीडी सेवा: कन्सल्टेन्ट एमडीजीपी डा. विपना केसी तिवारीको नेतृत्वमा दैनिक १०० देखि १५० जना बिरामीको परीक्षण गरिन्छ। यस टोलीमा डा. मधु, डा. समीर, डा. नरेश, डा. सुष्मिता, डा. सुजन र डा. बिस्वास सक्रिय छन्।
  • गम्भीर र दीर्घकालीन रोग व्यवस्थापन: विभाग प्रमुख डा. सन्दीप सापकोटा र कन्सल्टेन्ट फिजिसियन डा. शेषकान्त लामिछानेको नेतृत्वमा दैनिक ५० देखि ६० जना गम्भीर बिरामीको उपचार हुने गरेको छ। यसमा डा. निश्चल श्रेष्ठसहित नर्सिङ टोलीका नीमा हिताङ्ग र प्रियंका बि.के. को टोलीले आईसीयू र वार्डमा विशेष रेखदेख गर्छन्।

उपचारमा संलग्न डा. शेषकान्त लामिछानेका अनुसार बागलुङ जिल्लामा मद्यपानका कारण कलेजो, प्यानक्रियाज र मुटुका गम्भीर रोगीहरूको संख्या बढ्दो छ। “हाम्रो इमर्जेन्सी र ओपीडीमा आउने धेरैजसो केसहरू अल्कोहल दुरुपयोगसँग सम्बन्धित हुन्छन्,” डा. लामिछानेले भन्नुभयो, “अल्कोहलले ज्यान नै लिने अवस्था सृजना गर्छ। त्यसैले समुदायले मद्यपान नियन्त्रणमा ध्यान दिनु जरुरी छ। उपचारभन्दा रोकथाम नै उत्तम विकल्प हो।”

अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलका अनुसार अस्पतालले जटिल केसहरू लिन थालेपछि प्रदेश बाहिर रेफर हुने दरमा २० देखि ३० प्रतिशतले कमी आएको छ। स्थानीयस्तरमै उपचार पाउँदा बिरामीको उपचार खर्चमा करिब ५० प्रतिशतले बचत भएको छ।

अस्पताल प्रमुख डा. किरण तिवारीले यो सफलता टोली कार्यको परिणाम भएको बताउनुभयो। “हामीले प्रदेशभित्रै गम्भीर रोगको उपचार गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छौँ,” उहाँले भन्नुभयो। यस्तै, प्रशासन प्रमुख विपिन पुनले आगामी दिनमा आईसीयू सेवाको विस्तार र ‘क्रिटिकल केयर’ तालिमलाई प्राथमिकता दिने योजना सुनाउनुभयो।

सूचना अधिकारी शान्ति पौडेलका अनुसार अस्पतालले हाल २४ घण्टा आईसीयू, डायलासिस, गम्भीर संक्रमण व्यवस्थापन, र मल्टि-अर्गन फेलियर व्यवस्थापन जस्ता विशेषज्ञ सेवाहरू प्रदान गरिरहेको छ।

धौलागिरी प्रदेश अस्पतालले प्राप्त गरेको यो सफलताले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दाहरूलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाका लागि ठूला सहर धाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास गरिएको छ।


Exit mobile version