कास्की निर्वाचन क्षेत्र नम्बर २ का सांसद उत्तमप्रसाद पौडेलले पोखराको यातायात क्षेत्रलाई आधुनिक, मर्यादित र व्यवस्थित बनाउन आफू दृढ रहेको बताएका छन् ।
पोखराका बस र ट्याक्सी व्यवसायीहरुसँग भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यातायात क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै रोजगारी सिर्जना गर्ने ठूलो माध्यम भएको उल्लेख गरे ।
कार्यक्रममा चालकहरुका लागि ‘व्यावसायिक सुरक्षा कोष’ को स्थापना र व्यवसायीहरुको लगानी सुरक्षित नहुँदा परेको मर्काका बारेमा गम्भीर छलफल भएको उनले जानकारी दिए । लगानीकर्ता र सेवाग्राही दुवै पक्षलाई अन्याय नहुने गरी व्यावहारिक नीति निर्माणमा आफ्नो जोड रहने उनले स्पष्ट पारे ।
अब मिटरमा मात्र भर नपरी ‘डिजिटल पेमेन्ट’ र अटोमेटिक भाडा प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेकोमा उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले भने, ‘यसले पारदर्शिता र सहजता दुवै ल्याउने कुरामा म सजग छु ।’
‘शान्त पोखरा, सुन्दर पोखरा’ को परिकल्पनालाई साकार पार्न पेट्रोलियम गाडी र ट्याक्सीहरुलाई बिस्तारै इभीमा परिणत गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक देखिएको सांसद पौडेलले बताए ।
त्यस्तै, पेट्रोलियम गाडी र ट्याक्सीहरुलाई बिस्तारै इभी (विद्युतीय सवारी)मा परिणत गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक देखिएको सांसद पौडेलको ठहर छ ।

पोखराको ‘जाम’ हटाउन ठोस योजना ल्याउने र लामो समयदेखि प्रतीक्षामा रहेको बसपार्क निर्माण कार्यलाई गति दिन विशेष रुपमा लाग्ने प्रतिबद्धता उनले जनाए ।
सांसद पौडेलले निजी सवारीको तुलनामा सार्वजनिक यातायातलाई कम कर्जा सुविधा भएको विषय र ‘राइड शेयरिङ’मा देखिएको अन्यौलता र अनियमिततालाई चिर्दै स्पष्ट कानुनी व्यवस्था मिलाउन पहल गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी र ‘घण्टी’ प्रति नागरिकले देखाएको अटुट विश्वास र आशा नै आफ्नो मुख्य शक्ति भएको उनको भनाइ थियो ।
मतदान गर्ने वा नगर्ने सम्पूर्ण नागरिकहरुमा अब ‘देश बन्छ र रास्वपाले नै बनाउँछ’ भन्ने जुन आत्मविश्वास पलाएको छ, त्यसप्रति उनले सम्मान प्रकट गरे । यातायात व्यवसायीहरुको भावना र मर्मलाई बुझेर आफ्ना कार्ययोजनाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउने उनले बताए ।







