हालै गठित ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, कास्की’को ब्यानरमा आज पोखरामा सशक्त प्रदर्शन भएको छ ।
आइतबार समितिले सुकुम्बासीलाई उठाए प्रतिवाद गर्ने चेतावनीपछि आज व्यापक प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र पठाइएको छ ।
काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका भूमिहीन र सुकुम्बासी संगठित चरणबद्ध संघर्षमा उत्रिएका हुन् । उनीहरुले ‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित पोखराका सडकमा प्रदर्शन गरेका छन् ।
पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो ।
महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्वासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् । उनीहरूले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।
प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु अघि समितिले कोणसभा गरी सरकारी कदमको विरोध गरेका थिए ।







