पोखरा । फेवातालमा संचालनमा रहेका जलपर्यटन संबंधी व्यवसायहरुले पर्याप्त सुरक्षा सावधानी नअपनाएको र अव्यवस्थित ढंगले संचालन भएको व्यापक जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ ।
कास्की प्रशासनको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, पोखरा महानगरपालिका र स्थानीय संचारकर्मी सम्मिलित संयुक्त टोलीले पोखराको बाराहीघाटदेखि गैह्राको चौतारासम्म संचालनमा रहेका २३ वटा व्यवसायहरुको अनुगमन गरे ।
फेवातालमा संचालित कायाकिङ, सर्फिङ लगायतका व्यवसायहरु संबंधित निकायमा दर्ता नभएको, मूल्य सूची नराखेको र मूल्यमा एकरुपता नभएको पाइएको छ ।
त्यसैगरी ती व्यवसायले सेवाग्राहीको बिल विजक जारी नगरेको, वीमा नगरेको र असुरक्षित ढंगले सेवा प्रवाह गर्दा समय–समयमा दुर्घटना भई उद्धार समेत गर्नुपरेको विषयलाई मध्येनजर गर्दै यो अनुगमन गरिएको हो ।
अनुगमन टोलीले व्यवसाय संचालकहरुलाई आ–आफ्नो व्यवसाय संबंधी कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्कमा आउन निर्देशन दिएका छन् ।
यस्तै, पर्यावरणीय सुन्दरता र स्वच्छता कायम राख्न, पर्याप्त सुरक्षा सतर्कता अपनाउन र हावाहुरीको समयमा सुरक्षा जोखिम हेरी विशेष सतर्क सतर्कता अपनाउन समेत व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।







