राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । सरकारले उद्योगी–व्यवसायीलाई दुःख नदिने उनले स्पष्ट पारेका छन्।
आइतबार भएको निजी क्षेत्रसँगको छलफलमा उनले आफू धेरै बोल्नभन्दा सुझाव र समस्या सुन्न उपस्थित भएको बताए। ‘तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन, हामी व्यवसायीलाई दुःख दिन चाहँदैनौं,’ उनले भने।
लामिछानेले रास्वपाले बाचापत्रमार्फत प्रस्तुत गरेका प्रतिबद्धताअनुसार वास्तविक अर्थतन्त्रको विकासका लागि रोडम्याप तयार गरिएको जानकारी दिए।
निजी क्षेत्रका समस्या समाधान, उत्पादनमुखी अर्थतन्त्रको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिने नीति ल्याउन सरकार केन्द्रित रहेको उनले बताए ।
उनले केही सीमित समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रवृत्तिविरुद्ध भने सरकार कडा रूपमा प्रस्तुत हुने बताए। ‘देशको अर्थतन्त्रलाई मुठ्ठीमा राख्ने प्रयास रोक्न सरकारले निर्मम कदम चाल्नुपरेको हो,’ उनले भने ।
लामिछानेले आयकरको दर घटाउने, रुग्ण उद्योग सञ्चालनमा ल्याउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानीमैत्री वातावरण बनाउनेतर्फ सरकार सकारात्मक रहेको बताए।
जलविद्युत क्षेत्रमा घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने नीति पनि स्पष्ट रहेको उनले बताए।
उनका अनुसार नेपालमा रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले उद्योगी–व्यवसायीको क्षमता र सहकार्यलाई आधार मानेर अघि बढ्ने छ।







