नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पोखरामा ५ दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पुरा भएको छ ।
पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरे ।
सोही अवसरमा उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।
संघका अध्यक्ष पिताम्बर तिम्सिनाले ह्याण्डबल खेलको लोकप्रियता बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको गरिमा उकास्ने लक्ष्यसहित संघ अघि बढिरहेको बताए । उनले सातै प्रदेशमा युवा प्रतिभा पहिचान, खेलाडी उत्पादन र प्राविधिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गरेका छन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भारतका ह्याण्डबल मुख्य प्रशिक्षक अनुप सिंह काश्वानले नेपाल–भारतबीच ह्याण्डबल खेलको विकासका लागि सहकार्यका नयाँ आयामहरू खोल्न आफू सदैव सकारात्मक रहेको बताए ।
उनले खेलले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दै बदलिँदो समयसँगै ह्याण्डबलका नयाँ नियम र प्रविधिप्रति खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू सजग हुनुपर्नेमा जोड दिए ।
समापन कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिव तथा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, भारतका प्रशिक्षक तेजवीर सिंह लगायतले पनि ह्याण्डबलको उज्ज्वल भविष्यका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा पाँच प्रदेश तथा विभागीय टोलीका गरी २५ जना रेफ्रीहरूको सहभागिता रहेको थियो ।







