क्यानको महानिर्देशक खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिने पर्यटनमन्त्रीको भनाई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)को महानिर्देशक नियुक्तिका लागि शनिबार दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सात दिनको समय दिएर महानिर्देशकका लागि आवेदन मागेको हो ।

सरकारले सरकारी सेवा वा नागरिक उडड्यन प्राधिकरणको सेवामा रहेका व्यक्तिमध्येबिच खुला प्रतिस्पर्धा गराएर महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

यसअघिका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थल र भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा गिरफ्तार भएपछि क्यानको महानिर्देशक पद खाली भएको छ । अधिकारी गत मंसिरमा पक्राउ परेका हुन् ।

यसैबिच मन्त्रालयले जारी गरेको सूचनासहित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेल (गनेस)ले फेसबुकमा लेखेका छन्, यसपटक क्याको महानिर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुँदै छ ।

मन्त्रीको खल्तीबाट टपक्क झिकेको नामबाट होइन । प्रतिस्पर्धाका सबै चरणहरू पारदर्शी र पक्षपात रहित हुनेछन् । अब चाकरी गरेर या दलको झोला बोकेर नियुक्ति खाने दिन गए । योग्यता र इमान्दारीको कसीमा पास हुनुस । बस ।’

क्यानको महानिर्देशक पदका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ को दफा १९ को उपदफा १ बजोजिम योग्यता पुगेको व्यक्ति हुनुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

दफा १९ को उपदफा १ मा भनिएको छ, ‘प्राधिकरणको कार्य सञ्चालनको निमित्त कार्यकारी प्रमुखको रूपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ ।’

प्राधिकरणको महानिर्देशकको पदावधि चार वर्षको हुनेछ । नेपाल सरकारले सोही व्यक्तिलाई अर्को कार्यकालको लागि दोहो¥याउन पनि सक्ने व्यवस्था ऐनले गरेको छ ।

सूचनाअनुसार प्राधिकरणको महानिर्देशक पदका लागि ऐनले तोकेको ढाँचामा आवेदन फारम, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, सेवा अवधि खुलेको अनुभवको प्रमाणपत्र, तालिमको प्रमाणपत्रसँगै वैयक्तिक विवरण (बायोडाटा) पनि पेस गर्नुपर्नेछ ।

इच्छुकले कम्तीमा तीन हजार शब्दको व्यावसायिक कार्ययोजना पनि शिलबन्दी गरेर छुट्टै पेस गर्न भनिएको छ ।

Scroll to Top