नक्सापास नभएका भवनलाई वैधानिकता दिन असार मसान्तसम्मको समयसीमा

पोखरा महानगरपालिकाले नक्सा पास नगरी वा आंशिक मात्र नक्सा पास गरी निर्माण सम्पन्न भएका भवनहरुलाई वैधानिकता दिन अन्तिम पटक समय उपलब्ध गराएको छ ।

महानगरले भवन नियमित तथा अभिलेखीकरणका लागि विसं २०८३ असार मसान्तसम्मको अन्तिम समयसीमा तोकेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को नियम १०२ बमोजिम पोखरा महानगरपालिकाको भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२) स्वीकृत भई कार्यान्वयनमा आएकाले यो अवसर दिइएको महानगरले जनाएकोे छ ।

भवन निर्माण सम्पन्न प्रमाणपत्र नभएका भवन तथा जग्गाहरुको सम्पत्ति कर, मालपोत तथा भूमिकर तिर्न, घर जग्गा नामसारी सिफारिस गर्न र विद्युत् तथा खानेपानी जस्ता सेवा सुविधा सिफारिस लिन कानुनी बाधा पर्ने भएकाले यस्तो व्यवस्था गरिएको महानगरले बताएकोे छ ।

महानगरले ०८० भदौ १२ गते देखि २१ गतेसम्म सबै वडा कार्यालयहरुमा सप्ताहव्यापी रुपमा अभिलेखीकरण तथा भवन संरचना सम्पन्न गर्ने संबंधित तथा अन्य सचेतना अभियान कार्यक्रम संचालन हुने जानकारी दिएकोे छ ।

नयाँ व्यवस्था अनुसार प्लिन्थ क्षेत्रफल २ हजार वर्ग फिट र तीन तलासम्मका भवन भएका घरधनीले आफ्नै वडा कार्यालयमा सम्पर्क गरी भवन नियमित गराउनु पर्नेछ ।

सो क्षेत्रफल भन्दा बढी क्षेत्रफल र तला भएका भवनका हकमा भने पोखरा महानगरपालिकाको घर नक्सा तथा अभिलेखीकरण शाखामा सम्पर्क गर्न महानगरले सूचना मार्फत आग्रह गरेकोे छ ।

महानगरका अनुसार निर्धारित समय सीमाभित्र निवेदन दर्ता गरी प्रक्रियामा संलग्न भएकाहरुको चालु आर्थिक वर्षको असार मसान्तभित्रै अभिलेखीकरण सम्पन्न प्रमाणपत्र प्रदान गरिनेछ ।

०८३ असार मसान्तपछि यो कार्य पूर्णरुपमा समाप्त हुने भएकाले तोकिएको समयमै प्रक्रिया पूरा गर्न महानगरले नगरवासीलाई अनुरोध गरेकोे छ ।

यो सूचना महानगरका तर्फबाट सिभिल इन्जिनियर (नवौँ तह) विमल रंजन कार्कीले जारी गरेका हुन् ।

Scroll to Top