एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन

-


     राजन रेग्मी    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो ।

यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो ।

तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल भन्छन्, ‘बागलुङ र पर्वतमा एक–दुई ठाउँमा बाहेक हेलिप्याड नहुँदा यस क्षेत्रका जनतालाई समस्या परिरहेको छ ।

बर्खाको समयमा त बाढी र पहिरोका कारण सवारीसाधन नचल्दा बिरामीलाई मर्का परेको छ ।’अहिले पर्वतमा नेपाली सेना र सशस्त्रको ब्यारेकमा मात्र हेलिकप्टर अवतरण गर्ने गरेको छ ।

बागलुङमा भने धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा हचुवाकै भरमा हेलिकप्टर अवतरण गराइन्छ । धौलागिरि बहुमुखी क्याम्पसमा अवतरण गर्दा अध्ययन गरिरहेका विद्यार्थीको पठन–पाठनमा समेत समस्या परिरहेको छ ।

यतिसम्म कि क्याम्पस प्रांगणमा हेलिकप्टर आउँदै छ भन्नेसमेत क्याम्पस प्रशासनलाई थाहा हुँदैन । ‘कहिलेकाहीँ हेलिकप्टर आकस्मिक अवस्थामा आउने गरेको छ ।

कहिलेकाहीँ भने ‘भीआईपी’ सुट पाइन्ट लगाएर आउँछन् । क्याम्पसजस्तो संवेदनशील ठाउँमा बिना अनुमति हेलिकप्टर ल्यान्ड हुन्छ,’ क्याम्पसका एक कर्मचारी भन्छन्, ‘जसका कारण परीक्षामा समेत अवरोध पुग्ने गरेको छ ।’

पहाडी बाटो भएकाले वर्षाको समयमा हप्तौं दिनसम्म खोल्न नसिकने गरी बाढी तथा पहिरो जाने गरेको छ । पर्याप्त हेलिप्याड नहुँदा प्राकृतिक प्रकोप पीडितलाई समयमै उद्धार तथा उपचार गर्न अप्ठेरो पर्ने गरेको छ ।

साबिक धौलागिरिकै ठूलो धौलागिरि अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ तथा पोखरा पठाउनुपर्ने बाध्यता पर्छ ।

व्यवस्थित हेलिप्याड नहुँदा तुरुन्त रिफर गर्नुपर्ने बिरामीलाई झनै समस्या पर्ने गरेको धौलागिरि अस्पतालकी निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर सञ्जु पौडेलले बताइन् ।

भन्छिन्, ‘इमरजेन्सी बिरामीलाई रिफर गर्नुपर्छ, भनेको समयमा सवारी साधन पाइँदैनन, त्यहीमाथि पहाडी बाटो कहिले पहिरो, कहिले बाढी । हेलिप्याड भए यहाँबाट रिफर गरिएका इमरजेन्सी बिरामीलाई बचाउन सकिन्थ्यो ।’