समृद्धिका योजनाकारको सांसद सपना

-


     नयाँ लिपि    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित


मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्छन् ।

उनी जनताको परिवर्तनको चाहना नै आफ्नो एजेन्डा भएको बताउँछन् । ‘पहिलो कुरा त जनताले पटक पटक एउटैले, एउटै टिमले नेतृत्व गरोस् भन्ने चाहदैनन् । नेपाली जनता हरेक पल्ट परिवर्तन चाहन्छन् । त्यसैले परिवर्तनको जित हुन्छ भन्नेमा जनमत छ,’ उनी भन्छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश एजेन्डा र विचारका कारण आफ्नो जित निश्चित भएको दाबी गर्छन् । ‘मसँग पोखरा कस्तो बनाउने भन्ने भिजन छ । मैले कति काम गरेको छु, मतदाताले मूल्यांकन गर्नुभएको छ । आगामी दिनमा म आफ्नो स्पष्ट कार्ययोजनाका साथ अघि बढ्छु ।’

आफ्नो पहिलो एजेन्डामा सुशासन रहेको उनी बताउँछन् । नेपाली जनताले करिब सात दशकसम्म अनवरत रुपमा संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ । अझै पनि भ्रष्टाचार कम भएको छैन । आर्थिक पारदर्शितासहितको सुशासन जनताको मुख्य अपेक्षा हो । सँगसँगै निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने भन्ने आफ्नो मुख्य सरोकार रहेको उनी बताउँछन् । भन्ने हो ।

प्राकृतिक रुपले सुन्दर पोखरालाई उचित पूर्वाधार बनाएर नमुना पर्यटकीय स्थल बनाउनु जरुरी छ । नयाँ विमानस्थल बनिसकेपछि पुरानो एअरपोर्टको करिब ११ सय रोपनी जग्गा खाली हुन्छ । त्यसलाई जनताको अधिकतम हितमा उपयोग गर्नुपर्छ । विश्वप्रकाशले त्यहाँ अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधासहितको सुन्दर हरियाली पार्क बनाउने सपना देखेका छन् । पोखरा उपत्यकाका मुख्य स्थल घुम्न अनेकतिर फेरो लगाउनुपर्छ । यसलाई सहज बनाउन पोखरा चक्रपथ निर्माण गर्ने योजना बनाउनुपर्नेमा उनी जोड दिन्छन् ।

पुडिटारदेखि भरतपोखरी, निर्मलपोखरी, कृस्ति हुँदै पुम्दीपुम्दीको सिद्धार्थ राजमार्गमा जोड्न सकिन्छ । यो चक्रपथले बाइपास रोडको समेत काम गर्छ, बजार बढ्न थालेको जाम घटाउन पनि सहयोग गर्छ । सेती नदी र फुस्रे खोलामा केही ठाउँमा तटबन्ध बनाउनुपर्ने छ । कास्की २ (१) मा २ खालका भूभाग छन् । एउटा छ, सहरी भाग । त्यसलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । ग्रामीण क्षेत्रहरुलाई उत्पादन र आयआर्जनसँग जोड्नु अपरिहार्य छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्दै विशेष कृषि जोनको रुपमा त्यो क्षेत्रलाई विकास गर्नुपर्ने देखिन्छ ।

अघिल्लो पटक वाम गठबन्धनमा सामेल माओवादी अहिले पाँच दलीय गठबन्धनमा छ । साबिक नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक तवरले बारम्बार प्रतिनिधिसभा विघटन गरेपछि लोकतान्त्रिक र वाम शक्तिबीच गठबन्धन बनेको छ । विश्वप्रकाश भन्छन्, ‘कांग्रेस र हाम्रा केही एजेन्डा मिलेका छन् । हिजो विपीले प्रजातान्त्रिक समाजवाद भन्नुभएको थियो, कमरेड पुष्पलालले चाहिँ समाजवादको कुरा गर्नु भयो । निरंकुशलाई फाल्ने समान एजेन्डाका साथ जानुपर्छ भन्ने उहाँहरुको आदर्श थियो । अहिले संविधानको रक्षा र कार्यान्वयन गर्ने क्रममा प्रतिगमनलाई फाइदा हुने गरी पटक पटक समस्या देखिए । जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नका लागि हाम्रो गठबन्धन बनेको हो ।’

जनआन्दोलनपछि भएको राजनीतिक परिवर्तनबाट जनताले ठूलो आशा गरेका थिए । आर्थिक, सामाजिक रुपान्तरण र समृद्धिको अपेक्षा थियो । त्यसो हुन सकेन । त्यसैले समृद्धिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने अवस्था आएको उनको जिकिर छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य भावना भनेकै संघीयता हो । संघीयता कार्यान्वयन गर्दा प्रदेश सरकारले स्थानीय र केन्द्रको बीचमा रहेर सँगसँगै लैजाने संयन्त्र हो । केन्द्रले ठूला गौरवपूर्ण ठूला आयोजना चलाउने, प्रदेशले प्रदेशका आवश्कता अनुसारका योजना बनाउने, स्थानीय सरकारले स्थानीय अवश्यकता अनुसारका योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । नेपाली जनताले जनताले सिंहदरबारको अधिकार घरदैलोमा पाएका छन् । यो उपलब्धिलाई संस्थागत गर्न, अधिकारै दिनचाहिँ प्रदेशलाई बलियो बनाउनै पर्छ ।

पोखरा प्रदेशको राजधानीमात्र होइन, देशकै पर्यटनको राजधानी हो । यसको जिम्मेवारी अहं छ, पोखरा कस्तो छ, त्यसको आधारमा गण्डकी प्रदेशको परिचय हुन्छ । नीति, नियम निर्माण, विकास निर्माणका खाका तयार गर्नेदेखि समाजलाई सुशासन, पारदर्शिता र मानवीय विकासमा योगदान गर्ने खालको प्रदेश सरकार चाहिन्छ । शिक्षा, स्वास्थ्यलाई मौलिक हक मानिएको अवस्थामा त्यसमा नागरिकको पहुँच नहुँदा संविधानप्रति व्यंग्य बनिरहेको लामिछाने उल्लेख गर्छन् ।
कास्की २ (१)मा अथाह सम्भावना छन् । एउटा सहरी क्षेत्र छ, त्यो पनि पोखराकै सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रः डेमसाइड । पातले छाँगो, गुप्तेश्वर जस्ता धार्मिक, सांस्कृतिक सम्पदा छन् । बहुमारादेखि पुँडीटारसम्मको समथर भूभाग छ । ग्रामीण भूभाग रमणीय र दृश्यावलोकन लागि उपयुक्त छन् । कृषि उत्पादन र पशुपालनसँगै पर्यटकीय सम्भावना त्यहाँ देखिएको छ । ती क्षेत्रमा पूर्वाधारहरु निर्माण गरी पर्यटनलाई बढावा दिने उनी सुनाउँछन् ।

‘पर्यटकलाई बैदाम, लेकसाइडमात्र नभई ग्रामीण क्षेत्रसम्म लैजानुपर्छ । पर्यटनको विकास गर्दा पोखराबाट सामान लगेर गर्ने होइन, स्थानीय उत्पादन गर्ने र ती उत्पादन प्रयोग गरी आत्मनिर्भरको बाटोमा लैजानु जरुरी छ,’ उनी भन्छन् । यो क्षेत्रमा चाडै समृद्धिको फड्को मार्न सकिने सम्भावना त छँदै छ, सँगसँगै समस्याहरु पनि छन् । पोखरा महानगर त बनाइयो तर समानुपातिक विकास भएको छैन । पछि थपिएका क्षेत्रका बासिन्दालाई महानगरबासीको आभास दिलाउनुपर्ने चुनौती छ । केही भाग सहर बनिसकेको छ, केही बन्ने क्रममा छ । सहर बन्दै गरेको क्षेत्रको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना आवश्यक छ । योजना बनाएरमात्रै पुग्दैन उचित तवरले कार्यान्वयन गर्न जरुरी छ । ग्रामीण क्षेत्रलाई आवास क्षेत्र, पुँडिटार क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सम्भवना पनि छ । अब ठूला अस्पताल, विश्वविद्यालय, क्याम्पस, खेलका संरचना यी क्षेत्रमा बनाउन सके समानुपातिक विकासलाई टेवा पुग्छ ।
पार्टीका इमान्दार कार्यकर्ता उनी पोखरामा चिनिएका शिक्षासेवी हुन् । उनकै नेतृत्वमा पोखराको अमरसिंह मावि नमुना स्कुल बनेको छ । यहाँ अहिले विद्यार्थीको चाप धानिनसक्नु छ । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई पर्यटकीय स्थल बनाउने अभियानको नेतृत्व पनि उनैले गरेका छन् । त्यहाँ संग्रहालयसहितका पूर्वाधार बन्दै छन् । पोखरा उपत्यका भरिका सबै तालको अध्ययन र नक्सांकनमा लामो समय खर्चेका संरक्षणकर्मी लामिछानेले फेवातालका लागि ऐतिहासिक काम गरिदिएका छन् ।

उनी नेतृत्वको समितिले गरेको अध्ययनको आधारमा सर्वाेच्च अदालतले फेवाताल जोगाउनका लागि ऐतिहासिक फैसला गरेको थियो । फैसला भए पनि कार्यान्वयनका लागि ३ तहका सरकारले भूमिका निर्वाह गर्न सकेका छैनन् । यसका लागि जनदबाब आवश्यक देखिएको छ । इमान्दार, निर्भिक र दत्तचित्त भएर लाग्ने योजनाकार विश्वप्रकाश अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

विश्वप्रकाशले हिजो पोखरालाई चाहिने केही योजना बनाए । उनले केही कार्यान्वयन कार्यान्वयन गरेरसमेत देखाए । अब विगतमा बटुलेको अनुभव र योजना कार्यान्वयनका लागि नीति निर्माण गर्ने निकायमा पुग्ने उनको आकांक्षा छ । ‘अब ती बेला बनाएका योजना कार्यान्वयन गर्दै यो क्षेत्रको समृद्धिका लागि म चुनावी मैदानमा छु । विश्वप्रकाश लामिछानेले योजना बनाउँछ र दृढतापूर्वक कार्यान्वयन गर्छ भन्ने नागरिकलाई अवगत छ ।’