तनहुँ प्रहरीले लागुऔषध र विभिन्न सामाग्रीसगित एक जनालाई पक्राउ गरेको छ ।
देवघाट गाउँपालिका -५ सेतीभतेरी टोलबाट लागूऔषध तथा विभिन्न अवैध सामानसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले स्थानीय ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई पक्राउ गरेको हो ।
उनको घर, पूजा कोठा, सुत्ने कोठालगायत विभिन्न स्थानमा चेकजाँच गर्दा लागूऔषधसहित वन्यजन्तुसँग सम्बन्धित शंकास्पद वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
प्रहरीले २४८ क्यापसुल ट्रामाडोल, २०० ग्राम गाँजा, २५० क्यापसुल भोमिन, जरायोको सिङजस्तो देखिने २ थान, गैडाको छालाजस्तो देखिने सानो टुक्रा १ थान, पञ्चमुखे शंख १ थान, नख १ थान, सानो खुकुरी दाबसहित १ थान, रेडमी र क्यूटेल मोबाइल १/१ थान, त्रिकोण आकारका चार वटा छालाजस्ता टुक्रा, जरायोको सिङजस्तो देखिने साना टुक्रा ४ थान र सानो चक्कु १ थान बरामद गरिएको हो ।
तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी ल्याइएको छ । बरामद गरिएका वन्यजन्तुसँग सम्बन्धित देखिने सामग्रीको अनुसन्धान भैरहेको छ ।







