टाइगर कप भलिबल २०८२ को आय–व्यय सार्वजनिक, २२ लाख ६५ हजार बचत

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित “Ncell छोटो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२” को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । 

शनिबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । 

आयोजकका अनुसार प्रतियोगिताबाट कुल १ करोड ६० लाख ७ हजार २५ आम्दानी र  १ करोड ३७ लाख ४२ हजार ९ सय १९ खर्च भएको छ । प्रतियोगिताबाट २२ लाख ६५ हजार १ सय ६ बचत भएको जनाइएको छ । 

यद्यपि करिब ४०–४५ लाख रुपैयाँ अझै उठ्न बाँकी रहेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । 

प्रतियोगितामा विभिन्न संघ–संस्था, सरकारी निकाय, प्रायोजन तथा टिकट बिक्रीबाट आम्दानी संकलन गरिएको थियो भने खेल सञ्चालन, पुरस्कार, व्यवस्थापन, प्रचार–प्रसार, आवास तथा यातायातलगायत शीर्षकमा खर्च गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता खेलकुदीय र आर्थिक दुवै हिसाबले सफल रह्यो । 

सोही अवसरमा संस्थाका सक्रिय सदस्य विरेन्द्र खडका र आशिष थापा क्षेत्री लाई सम्मान गरिएको थियो । साथै, विदेश बसाइपछि नेपाल फर्केका भू.पू. खेलाडी मञ्चका निवर्तमान अध्यक्ष हरि पराजुली तथा पत्रकार प्रेम नारायण न्यौपाने लाई स्वागत गरिएको थियो । 

Scroll to Top