नयाँलिपिः करिब १ करोड २५ लाख रुपैयाँको लागतमा पोखरामा पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार यही माघ १२ गतेदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता शुभारम्भ हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा हुने यस प्रतियोगितामा महिला र पुरुषका ६–६ टिमले सहभागिता जनाउनेछन्।
पुरुषतर्फ भारतकाे सुनिल भलिबल क्लबसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिममा हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लब छन्।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डको टिमसहित नेपालका शीर्ष टिमहरु सहभागी हुनेछन्। सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।
प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीयलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार सात सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। गत वर्ष चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए। यस वर्षको प्रतियोगिताले थप रोमाञ्चक खेल र नयाँ च्याम्पियनको खोजी गर्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए ।
प्रतियोगिताकालागि आयोजकले करिब २ हजार दर्शक अट्ने प्यारापिट बनाउनेछ भने दर्शकले अनलाइनबाट पनि टिकट किन्न सक्नेछन् । अनलाइन टिकेटिङमा इ–सेवाले सघाउनेछ । आयोजकले आजै इ–सेवासँग औपचारिक सम्झौतासमेत गरेको छ ।
त्यस्तै, एक्सन स्पोर्टसले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नै टाइगर ग्रूपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । यसपटक प्रतियोगिता आयोजना खर्च र पुरस्कार राशी दुबै वृद्धि गरिएको शर्माले बताए ।
प्रतियोगिताका दौरान दैनिक ४४ हजार रुपैयाँ खेल मैदानलाई बुझाउन पर्ने आयोजकले जनाएका छन् ।