भलिबलः खेल तालिका सार्वजनिक,आयोजक बाहिर, ११ टिमबीच प्रतिस्पर्धा

पोखरा । एनसेल छैटौ टाइगर कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार खेल तालिका प्रकाशित गरेको हो ।

प्रकाशित खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र शसस्त्र प्रहरीको एपिएफ क्लबको भिडन्त पक्का भएको हो ।
पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबका बीच हुने छ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लब आमने सामने हुनेछन् ।

यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकको टिम सहभागी नहुने भएको छ ।यद्यपि पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी जम्मा ११ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको सहभागिता हुने छ भने त्यस्तै गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता रहेको छ ।

त्यस्तै महिलातर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहेको छ ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Exit mobile version